
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिनुभएको छ ।
क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने माग राख्दै पार्टीका जिल्ला सभापतिहरूले धर्ना दिइरहेका छन् ।
सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय पुग्नुभएका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गर्नुभयो ।
वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाइ नगरेको गुनासो गर्नुभयो । पार्टी नेतृत्व इमान्दार भए अझै पनि तोकिएकै समयमा कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्