
हेटौंडा । मकवानपुर प्रहरीले मिनिट्रकबाट लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
थाहानगरको डाँडाखर्कबाट शिखरकोटतर्फ जाँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनि ट्रकबाट १ सय ४ किलो गाँजासहित मकवानपुरगढी गाउँपालिका–८, बुढिचौरका ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
भदौ ८ गते प्रहरीले घिसिङको साथबाट उक्त परिमाण लागुऔषध बरामद गरेको हो । प्रहरीले ट्रकमा जाँच गर्दा आलुको बोरा लोड रहेको बिचभागमा लुकाएर राखेको अवस्थामा ८ वटा पोकामा गाँजा फेला परेको थियो । गाँजा, ट्रक र घिसिङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्