१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रशिक्षक अल्मुताइरीले व्यावसायिक आचरण सुधार्नुपर्ने विवाद छानविन समितिको निष्कर्ष

राजीनामासम्बन्धी विवादास्पद फेसबुक पोस्ट हटाउन परिषद्ले निर्देशन दिनुपर्ने निष्कर्ष

0
Shares

काठमाडौं । एन्फा विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषदले गठन गरेको छानविन समितिले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यावसायिक आचरण सुधार्नुपर्ने निष्कर्ष निकालेको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र अलमुताइरीबीचको विवाद समाधानका लागि राखेपले पुरेन्द्र विक्रम लाखेको नेतृत्वमा गठित सात सदस्यीय छानविन समितिले उक्त निष्कर्ष निकालेको हो । साथै समितिले अलमुताइरीले उक्त विवादास्पद राजीनामासम्बन्धी पोस्टलाई आफ्नो फेसबुकबाट हटाउन परिषद्बाट निर्देशन दिनुपर्ने निष्कर्ष पनि निकालेको छ ।

समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ दिनभित्र आचारसंहिता तयार गरी राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिएर लागू गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ । झन्डै ३ साता लगाएर तयार पारेर छानविन प्रतिवेदन बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको छ ।

समितिको प्रतिवेदन बुझ्दै राखेपका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरी एन्फालाई १ हप्ताभित्र आवश्यक निर्देशन दिने बताउनुभयो । समितिले ८२ पृष्ठ लामो प्रतिवेदनमा वरिष्ठ उपाध्यक्षलाई पनि आवश्यक निर्देशन दिनुपर्ने औँल्याएको समितिले जनाएको छ ।

प्रतिवेदनमा एन्फाले आफ्ना विभागहरूलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव दिइएको छ । त्यस्तै समितिले आउने दिनमा यस्ता विवाद आएर आफैं समाधान गर्न नसकेको खण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराइ राखेपलाई अनुरोध गर्न पनि निर्देशन दिएको छ ।