
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको मन्त्रिपरिषदका ११ जना मन्त्री मध्ये नौ जनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट मार्फत सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । खेलकुद मन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाको सम्पत्ति सार्वजनिक भएको छैन ।
सार्वजनिक विवरण अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललसँग ५ तोला सुन छ भने श्रीमती लता पोखरेलको नाममा चितवनमा २० लाख रुपैयाँको घर छ । मूख्यमन्त्री पोखरेलको काठमाडौं र तनहुँमा जग्गा रहेको पनि विवरणमा देखाईएको छ । तलब बापतको ५ लाख रुपैयाँ बैंकमा मौज्दात छ । उहाँले २५ लाख रुपैयाँ ऋण लिनुभएको छ ।
त्यस्तै अर्थमन्त्री रामजीप्रसाद बरालले आफूसँग ४ तोला सुन रहेको देखाउनुभएको छ । उहाँको एभरेस्ट बैंकमा ३ लाख नगद मौज्दात रहेको छ । उहाँको छोरा र बुहारीसंग २ वटा मोटरसाइकल र १ स्कुटर रहेको छ । बरालसंग ६० हजारको गाई र ६० कित्ता सेयर रहेको छ । श्रीमती बुद्धिमाया बराल र उहाँको नाममा कास्कीका २ ठाउँमा जग्गा छ । मन्त्री बरालले हालै १ करोड रुपैयाँको ऋण लिएको देखाउनुभएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले स्वआर्जन र पैतृक सम्पत्तिबाट पोखरा १६ मा ३ सय ८२ वर्गमिटरमा फैलिएको घर जोडेको खुलाउनुभएको छ । खड्कासँग १ करोडभन्दा बढी नगद मौज्दात, ५६ लाखको सेयर, ९५ तोला सुन छ । खड्काले ८५ लाख ऋण दिनुभएको छ ।
कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफ्नो नाममा पोखराका ६ ठाउँमा घर र ८ ठाउँमा जग्गा देखाएका छन् । उहाँसँग १० करोड नगद मौज्दात, ५५ हजार रुपैयाँ घरमा रहेको छ भने ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा छ । उहाँको परिवारसंग ७ लाख ५० हजार कित्ता सेयर रहेको पनि सम्पत्ति विवरणमा जनाइएको छ ।
मन्त्री थापासँग २ वटा गाडी छन भने होटल, ट्रेड हाउस, मल, रिसोर्टमा लगानी छ । त्यस्तै पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलकी श्रीमती इन्द्रकली कँडेलको नाममा बागलुङमा ४८ लाख ५० हजारमा खरिद गरेको घर छ । उहाँकी श्रीमती र उहाँको नाममा बाग्लुङको लेखानी, चितवन र रुपन्देहीमा जग्गा छ ।
ऋणबाट जग्गा किनेको र केही सम्पत्ति बिक्रीबाट आर्जेको उहाँको सम्पत्ति विवरणमा देखाइएको छ । उहाँसँग २५ तोला सुन र १ किलो चाँदी छ । उहाँसंग ८७ हजार कित्ता सेयर छ । सम्पत्ति विवरण अनुसार उहाँ २ करोड ६७ लाख रुपैयाँ ऋणमा हुनुहुन्छ ।
शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठसँग १५ लाख नगद रहेको छ । उहाँको नाममा स्याङ्जा र काठमाडौंको नागार्जुनमा एक एक वटा घर छ । उहाँसँग १९ तोला सुन, २ तोला चाँदी र १ थान हिराको औँठी छ । उहाँको काठमाडौं र स्याङ्जाको ६ ठाउँमा जग्गा छ ।
शिक्षामन्त्री श्रेष्ठको ८ कम्पनीमा सेयर छ तर ती सेयर प्राप्तिको स्रोत भने उल्लेख गर्नुभएको छैन । उहाँले बैंकबाट ७ करोड ९० लाख रुपैयाँ ऋण लिएको देखाउनु भएको छ । उहाँको नाममा ४५ लाख रुपैयाँमा किनेको एउटा कार र श्रीमतीको नाममा किनेको २ वटा स्कुटर छन् ।
माओवादीबाट वनमन्त्री बनेका दीपक थापा मगरको नाममा स्याङ्जामा ५० हजार रुपैयाँमा किनेको घर, पोखरामा ४० लाखको जग्गा रहेको छ । यसको स्रोत तलबभत्ता, छोराको व्यवसाय र रेमिट्यान्स भएको जनाइएको छ ।
मन्त्री थापाको सम्पत्ति विवरण अनुसार उहाँसँग ३० तोला सुन र २० तोला चाँदी छ । उहाँले ६१ लाख ५० हजार ऋण पनि देखाउनु भएको छ । त्यस्तै ऊर्जामन्त्री हरिशरण आचार्यसँग ८ तोला सुन र ५ तोला चाँदी छ । उहाँका बुबा र श्रीमतीको नाममा गोरखामा घरजग्गा छ ।
उहाँले ५० लाख ऋण लिएर २० लाखमा आमुल फर्निचर उद्योग चलाउनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङको नाममा लमजुङ दूधपोखरीमा घर, लमजुङमै जग्गा, चितवनको कविलास र मकवानपुरमा जग्गा रहेको छ । उहाँसँग ३ तोला सुन र ३ बैंकमा ८ लाख ६० हजार नगद मौज्दात छ ।
प्रतिक्रिया दिनुहोस्