
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिमको लक्ष्य एएफसी महिला एसियन कप–२०२२ मा छनोट हुने बताएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै प्रशिक्षक फिलिप्सले एसियन कपमा छनोट हुने लक्ष्य लिएको बताएका हुन् ।
नयाँ र अनुभवी खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरूको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सको भनाइ छ ।
नेपाली महिला टिमले एसियन कपका लागि उज्वेकिस्तानमा आयोजना हुने छनोट प्रतियोगितामा सहभागिता जनाउनेछ । नयाँ र अनुभवी खेलाडीको संयोजन रहेको टोलीमा सबैसँग जोश भएकाले राम्रो गर्ने कप्तान रेनुका नगरकोटीले बताइन् ।
छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल असोज ५ मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्