एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थल बाहिर आतंकवादी आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । यद्यपि यो चेतावनीका बाबजुद मानिसहरू विमानस्थल बाहिर भेला भइरहेका छन् ।
काबुल विमानस्थलमा अहिले विदेशी सेनाले भीडलाई नियन्त्रित गर्ने प्रयास गरिरहेका छन् भने तालिबानका लडाकुले विमानस्थल बाहिर सुरक्षाको निगरानी गरिरहेको जनाएको छ । तालिबानले अफगानी नागरिकलाई एयरपोर्ट जान नदिने बताए पनि अफगान नागरिक विमानस्थल पुग्ने प्रयास गरिरहेका छन् ।
अफगानी नागरिक उड्डयन अधिकारीका अनुसार अत्यधिक भीड भएको स्थानमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै पटक–पटक सचेत गराइएको छ । तर, मानिस विमानस्थलबाट हट्न तयार नदेखिएको बताइएको छ ।
उता तालिबानका लडाकूले अफगानिस्तानको एक समाचार च्यानलका पत्रकारमाथि कुटपिट गरेका छन् । अफगान समाचार च्यानल ‘टोलो न्यूज’ का क्यामराम्यान र रिपोर्टरमाथि तालिबानले कुटपिट गरेको च्यानलले बताएको छ । तालिबानविरुद्धको समाचार बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्