१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बल्ल बजेटको तयारीमा अर्थ मन्त्रालय

अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने गरी कार्यक्रम परिमार्जन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

0
Shares

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी सुरु गरिएको हो ।

बिहीबार अर्थमन्त्रालयले अन्य मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताहरू बारे प्रकाश पार्दै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन निर्देशन दिनुभयो ।

अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रमहरुमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनर्परिभाषा र पुनर्तालिकीकरण, थन्किएर रहेको राज्यको सम्पत्ति र विभिन्न कोषहरूको एकीकृत परिचालनमा उचित ध्यान दिइने समेत बताउनुभयो ।

यस्तै योजना र बजेटको तालमेल मिलाइने र डिपिआरलगायत पूर्व तयारीविनाका, स्रोत सुनिश्चित नभएका आयोजनाहरुको सम्बन्धमा पुनर्विचार गरिने भएको छ ।