१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सी डिभिजन लिगको छनोट खेलहरू बिहीबारदेखि सुरु : पहिलो दिन सतासीधाम र एफसीए विजयी


0
Shares

काठमाडौं । सी डिभिजन लिगको छनोट खेल अन्तर्गत बिहीबार भएको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लबले च्याम्पियन ब्वाइज एफसीसँग बराबरी खलेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको उद्घाटन खेलमा सतासीधाम र च्याम्पियनले २–२ को बराबरी खेल्दै अंक बाँड्दा दिनको दोस्रो खेलमा एफसीएसले गोदावरीलाई ३–२ ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

सतासीधामका लागि मनिस लिम्बु र मिलन परियारले एक/एक गोल गर्दा च्याम्पियनका थिरा राज राई र रञ्जन मगरले एक एक गोल आफ्नो नाममा लेखाएका थिए । दोस्रो खेलमा एफसीएसलाई जित दिलाउन नेत्र हिउमिन, समिर गुरुङ र सन्त लाल गुरुङले गर्दा गोदावरीका लागि कुशल महर्जन र मिलन तामाङले एक एक गोल गरेका थिए ।

आयोजक एन्फाले एक कार्यक्रमको आयोजना गरी सी डिभिजन छनोट खेल सुभारम्भ गरेको हो । सी सिभिजन लिगका लागि देशै भरबाट कुल ७८ क्लबले सहभागिता जनाउँदै छन् । यसअघि एन्फाले ७९ क्लबले छनोट खेल्ने जनाए पछि शुक्रबार काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिँदा प्रतिस्पर्धी टोलीको संख्या ७८ पुगेको हो । एन्फाले सहभागी टोलीलाई १५ समूहमा विभाजन गरेको छ ।

छनोटमा सर्वाधिक धेरै टिम बागमती प्रदेशको रहेको छ । बागमतीबाट ६१ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २/२ टिम सहभागी भएको एन्फाले जनाएको छ । छनोटबाट तीन टोली सि डिभिजनमा बढुवा हुनेछन् ।