
काठमाडौं । नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच भदौ १७ र २० गते अर्को त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलको प्रसारण अधिकार एडप्याडले पाएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको जानकारी दिएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले बिहीबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एन्फाले २५ लाख १० हजार रुपैयाँमा एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको जनाएको छ । एडप्याडले भारतबाहेक विश्वभरको प्रसारण अधिकार प्राप्त गरेको हो । दुवै मैत्रीपूर्ण खेल दर्शक विना गर्ने एन्फाले जानकारी दिएको छ ।
असोजमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । नेपाल र भारत दुवैले असोज १५ गते सुरु हुने साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्