१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसभित्र बैचारिक विद्रोहको संकट


0
Shares

लाओस राई
सामान्यतय बिद्रोह भन्ने बित्तिकै आक्रोशपूर्ण ब्यवहार र गतिविधिलाई बुझ्ने गरिन्छ । रसको हिसाबले हेर्ने हो भने बिद्रोह रौद्र रसमा पर्दछ । विशेषताको दृष्टिले पनि बिद्रोह हाँस्य रस जस्तो सामान्य मनोरञ्जन दिने खालको जस्तो त हुने कुरै भएन । अलि भयंकर र डरलाग्दो त हुन्छ नै । यद्यपी हरेक बिद्रोहबाट ध्वस्त हुन्छ भन्ने हुँदैन् । पूर्वीय दर्शनमा कालीले रौद्र रुप धारण गरेपछी दानव राजको अत्य भएको कथन त्यसको उदाहरण हो । कालीको तिनै रौद्रा रुपकै कारण हिंसाको अन्त्य भयो । देवत्व र धर्म रक्षा काली कै बिद्रोहद्वारा भएको मानिन्छ । त्यसैले विद्रोहलाई नयाँ समय र परिस्थितिको शुरुवातको अवस्थाको रुपमा स्वीकार गर्दा राम्रो मानिन्छ ।

मैंले यस आलेखमा बिद्रोहलाई रचनात्मक, परिवर्तन र निर्माणको प्रमुख अंगको रुपमा प्राथमिकता दिंंदै बिद्रोहबाटै सामाजिक, आर्थिक, राजनीतिक, परिवर्तनहरु भएको विश्वका विभिन्न देशका उदाहरणसहित नेपाली कांग्रेसमा विद्यमान परम्परावादी राजनीतिक संस्कार, सस्कृति र प्रबृत्तिको कुनै स्थान छैन भन्दै बिद्रोहको आवश्यक्ता छ भन्ने विषयमा केन्द्रित हुँदै विद्रोहको आवश्यक्ताका विषयमा चर्चा गर्नु सान्दर्भिक ठानेको छु ।

धेरै परको इतिहासमा नजाऔं । कृष्णप्रसाद कोइरालाले राणा शासनको बिरोध गर्दा बिदेशिनु परेको घटनाको स्मरण गरौं । तत्कालिन समयमा सर्वस्वहरण भएका वीपी कोइराला र निर्वासनमा रहेका अपहेलित राणाजीहरुको संयुक्त बलमा सशस्त्र बिद्रोह भयो । त्यो बिद्रोहले देशलाई प्रजातान्त्रिक व्यवस्था दिलायो । जब वीपीले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गमा लगे त्यो समय कांग्रेसको राजनीतिक मार्ग, उद्देश्य र लक्ष्य प्रष्ट थियो । राणाको दमन र दासत्वबाट उन्मुक्ति दिलाउनु थियो । कांग्रेसले प्रष्ट राजनीतिक लक्ष्य र उद्देश्यको कारण जनताको साथ पायो र रैतीको जीवन व्यथित गरिरहेका जनता मालिक बने । किनकी नेपाली कांग्रेससंग प्रजातान्त्रिक समाजवाद जस्तो राजनैतिक मुद्दा थियो । यस अर्थमा वीपीले गरेको बिद्रोह रचनात्मक रुपमा सिद्द भयो । तात्कालिन समयमा बिद्रोह सामाजिक भेदभावको अन्त्य, राजानीतिक अधिकार प्राप्तिको निम्ति आवश्यक थियो । त्यही बिद्रोहको जगमा राजनीतिक रचनात्मकताको शुरुवात भयो । शासकीय स्वरुपमा परिवर्तन र रुपान्तरण भयो । अब भन्नुहोस बिद्रोह आवश्यक थियो कि थिएन ? आवश्यक छ कि छैन ? सांगठनिक तरलतालाई संगठित गर्न, संक्रमणको अन्त्य गर्दै स्थायित्व दिन र पार्टीलाई रुपान्तरित गर्न पार्टी भित्र बैचारिक बिद्रोह वा फरक फरक विचारहरु बीच द्वन्द्धात्मक अवस्थाको निर्माण हुनु जरुरी पर्दछ ।

किनकी द्वन्द्ध र संघर्ष बिना कुनै पनि राजनीतिक विचार गतिशील हुँदैन । गतिशील नहुने सिद्धान्त बिचारसंग गुरुत्व बल कम हुँदै जाने र पार्टी, संगठन र नेतृत्व शिथिल हुने हुनाले पार्टीले पराजय भोग्नुपर्ने हुन्छ । अथवा जितको अपेक्षा गर्नु बेक्कार हुन्छ । त्यसैले बैचारिक एबम सैद्धान्तिक बिद्रोह गर्नु राजनीतिक विचार र सिद्धान्तलाई गतिशील बनाउनका निम्ती बिचारको बिद्रोह जरुरी छ । बैचारिक र सैद्धान्तिक विद्रोहको प्रसंग उल्लेख गरिरहंदा बर्नस्ताईन र रोजा लक्जमवर्ग विचको बैचारिक मत भिन्नताको घटना बढो चाखलाग्दो छ । जस्तो कि बर्नस्टाइन क्रमिक बिकासको मध्यमबाट पनि समाजवादमा पुगिन्छ । क्रान्तिको बाटो कठिन छ भन्दै इभुल्युसनरी सोशलिज्मको पक्षपाति थिए भने रोजा लक्जमवर्ग क्रान्तिबाट मात्र समाजवाद सम्भव छ भन्ने पक्षमा थिइन् । उनले क्रमिक बिकासको माध्यमबाट समाजवादको सम्भव छैन भन्दै सुधार भर्सेज क्रान्तिको मान्यताको थालनी गरिन् ।

सन् १९०० ताका बिकसित ति विचारहरु एक अर्कामा द्वन्द्धात्मक, विरोधी र विद्रोही थिए । माथिका दुई फरक विचारको द्वन्द्धात्मक अवस्थालाई एक उदाहरणद्वारा अझै प्रष्ट गर्न सकिन्छ । ट्रेड युनियनको गतिविधिको कारण पनि मजदुर वर्गको स्तरउन्नती हुँदै जाने हुनाले कालान्तरमा पूँजीवाद आफ्नो राजनीतिक तथा आर्थिक संकटको कारण समाजवाद स्थापना हुने विचार राख्नु हुँदैन भन्ने भनाइ वर्नस्टाइनको थियो । तर रोजाको भनाइ फरक थियो । पूँजीवादी बिकासको तीन प्रमुख कारण समाजवाद स्थापनाको बैज्ञानिक आधारहरु हुन । पहिलो, पुँजीवादी अर्थब्यवस्थाको बढ्दो अराजकता, जसले लाजलाग्दो रुपमा स्वयम बरबादी तिर लैजान्छ । दोस्रो, उत्पादन प्रक्रियामा समाजीकरण । र तेस्रो, सर्बहारा वर्गमा बढ्दै गएको सांगठनिक संरचना जसले वर्गीय क्रान्तिको निम्ति भरपुर मद्दत गर्छ । सैद्धान्तिक रुपमा रोजा र वर्निस्ताईन दुवै जना मार्क्सवादी भए पनि बैचारिक बहसको प्रसंगमा एक अर्कामा कटु आलोचक थिए ।

मैले माथि उल्लेख गरिसकेको छु । एउटै पार्टी भित्र रहेर पनि पार्टीलाई गतिशील, चलायमान र लोकप्रिय बनाउन बैचारिक बहसको आवश्यक छ । त्यही घटनाको सेरोफेरोमा आधारित हुँदै कांग्रेस र रामचन्द्र पौडेलको बैचारिक ताकतको असलियत के हो भन्ने हेर्न बाँकी छ । तर विश्व राजनीतिको हजारौंं घटनाहरुको अनुभव र अध्ययन गरेका पौडेललगायत बैचारिक बहसको माध्यमबाट पार्टी, देश र जनताको जीवनमा गुणात्मक परिवर्तन गर्न सकिन्छ भन्ने ध्येय लिएका नेताले वैचारिक बहसको गतिलाई तिब्रता दिन नसकेको कारण समाजवादी विचार र रामचन्द्र पौडेल ‘इन्धन नभएको रेल’ जस्तै थन्किएको अवस्थामा छन् । निष्कलंकको छाता ओडेका पौडेलले हिम्मत प्रदशनी गर्न नसक्दा बैचारिक ताकतलाई कुपोषणले आक्रमण गरेको जस्तै देखिन्छ ।

सन्दर्भ, नेपाली कांग्रेसको १४औं महाधिवेशन र सैद्धान्तिक पक्षको हो । सैद्धान्तिक पक्षलाई अझै प्रभावकारी, जनपक्षीय र उत्कृष्ट तुल्याउन गर्नुपर्ने बैचारिक बहस र छलफलमा केन्द्रित हुँदै बौद्धिक तथा बैचारिक विद्रोहको बारेमा चर्चा गर्दै महाधिवेशनले कस्तो राजनीतिक मार्ग र सैद्धान्तिक पक्षलाई अनुमोदन गर्दा कांग्रेस अझै लोकप्रिय बन्नसक्छ जस्ता महत्वपुर्ण विषमा क्रमस बिचार, विमर्श गर्दै बैचारिक संघर्षको संकटको बारेमा चिरफार गर्नुपर्छ । वीपीले वि.स.२०१२ को महाधिवेशनमा प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक आदर्श थापित गरे । त्यो एक किसिमले एतिहासिक उपलब्धि थियो । वीपी लामो समय नेतृत्वमा रहेपनि दरवारसंगको द्वन्द्ध र टकरावले धेरै समय जेलमा नै विताए । वीपीको मृत्युपछीका सभापति कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइरालाको समयसम्म संबैधानिक राजतन्त्र सहितको प्रजातान्त्रिक समाजवादको राजनीतिक मान्यता कांग्रेसको थियो ।

माओवादी बिद्रोह, दरवार हत्यकाण्ड, त्यसपछि राजा ज्ञानेन्द्रमा शासन शक्तिप्रति जागेको भोक र सत्ताबाट सडकमा पुगेका कांग्रेस एमाले लगाएत अरु पार्टीको आन्दोलनसंग बिद्रोही माओबादीबीच भएको १२ बुंदे सम्झौता र संयुक्त जनान्दोलनले निर्माण गरेको, नयाँ परिस्थितिले कांग्रेसलाई सघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याएको र फरक राजनीतिक धरातलबाट गणतन्त्रसम्मको यात्रा तय गर्दा पार्टीमा गणतन्त्रको पक्ष९बिपक्षमा विचारहरु विभाजित भएको थियो । तर पनि बहुमत सदस्यहरु गणतन्त्रको पक्षमा उभिएपछी कांग्रेस पार्टी पनि गणतन्त्रवादी हुन पुग्यो ।

कांग्रेस गणतन्त्रवादी पार्टी हुँदा गिरिजाबाबुको त्यो कदमलाई सन्त नेता कृष्णप्रसाद भट्टराईले बिद्रोहीको उस्काहट र कांग्रेसको आदर्शको बिपरित भन्दै महाधिबेशनमा अनुपस्थिति जनाए । किनकी कांग्रेसमा कृष्णप्रसाद भट्टराईसहित अरु धेरै नेताहरु संवैधानिक राजतन्त्रको पक्षमा थिए । यहाँ यति मात्र प्रष्ट गर्न खोजिएको हो कि गिरिजाबाबुको गणतन्त्रमा जाने निर्णय पनि कांग्रेसको बिद्रोह नै थियो र बिद्रोह रचनात्मक थियो । जनताको हितको पक्षमा थियो । यो नजिकको इतिहासबाट पनि रामचन्द्र पौडेलले सिक्नुपर्ने देखिन्छ ।

आज कांग्रेसभित्र विभिन्न समूहहरु छन् । संथापन इतरको समूहको नेतृत्व पौडेलले गरेका छन् । ती विभक्त नेताहरु बैचारिक रुपले पार्टीलाई धारिलो बनाउनुपर्ने जिम्मेवारीबाट पन्छिदै एक समुहले अर्को समुहलाई अराजनीतिक आरोप र आक्षेपहरु लगाउँदै समय बिताइरहेका छन् । कोइराल परिवारका सदस्यहरु सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले चलाएको आरोप लगाउदै छन् भने देउवाको पनि हार्नेहरुले काम गर्न दिएन भन्ने गुनासो उस्तै छ । पौडेल सिद्धान्त र विचारको कुरा गर्ने भन्ने नेता भए पनि व्यवहारमा गरिब देखिएपछी कांग्रेस भित्र नयाँ विचारको सन्दर्भमा छलफल बहस होला । नयाँ ढंगले पार्टी अघि बढ्ला भन्ने आशा गर्नुको के अर्थ रहन्छ र रु उनीहरु पनि गुनासो सुनाउनैमा व्यस्त छन् ।

स्वार्थ, लोभ र दलालतन्त्रले पार्टीलाई घेर्यो । विचार, सिद्धान्त, निष्ठा र आदर्शको अवस्था संकटपूर्ण भयो भन्दै कार्यकर्ता घर घरमा पुग्दा बेवास्ता गर्ने इतर समूहका नेताहरु देउवा समूहले भित्तामा पुर्याइदिएपछी महाधिवेशनको मुखमा आएर मुख्यालयमा धर्ना र अनसन जस्ता बिरोधको कार्यक्रम जारी राख्नु भनेको महाधिवेशनसंग डराएको जस्तै हो । हिजो कमजोरलाई भित्तामा पुर्याएको र आज आफूहरु भित्तामा पुगेपछी थाहा भयो होला नि ? यसबारे गम्भीर बन्ने कि नबन्ने ? सामूहिक भावनाको विकास, एकता र वैचारिक शक्तीलाई मलजल गर्ने कि नगर्ने ? सोच्ने बेला आइसकेको छ ।

नयाँ पुस्ताका युवाहरु न विचार, सिद्दान्त र दर्शनको बारेमा छलफल गर्दछन् । न पप्जी र फ्रीफायर खेल्दै समय व्यथित गर्ने युवा पुस्तालाई राष्ट्र निर्माणको मुलधारमा कसरी सहभागी गर्न सकिन्छ भन्ने बारेमा चिन्ता नै गर्छन । उल्टै पप्जी र फ्रीफायर बन्द गर्नु हुँदैन भन्दै सामाजिक संजालमा आक्रोश कोर्छन् । यसकारण ०६३ को जनआन्दोलनले जन्माएका युवा पुस्ता हुन् या जागिरे जीवनबाट राजनीतिमा क्रान्तिकारी बनेका बुढा पुस्ता वा पंचायत कालमा दुःख पाएका पूरानो पुस्ता यी तिनै कालखण्डका ब्यक्तिहरु संकट, समस्या र गुनासो मात्र पोख्छन् । उनीहरु आफ्नै समस्याको भुमरीमा छन् ।

नयाँ पुस्ताको आकांक्षा पुरा गर्ने राजनीतिक दर्शन, व्यवहारिकता र योजना बनाउनुको सट्टा मनोवाद सुनाउंदै यथार्थबाट भागिरहेका छन् । यही कमजोरीको फाईदा उठाउंदै च्याउ जस्तै नयाँ पार्टी जन्मियो । कांग्रेसकै नाती पुस्ताहरु आइएनजिओहरुले लगानी गरेको पार्टीहरुको झण्डा, ब्यानर र अंग्रेजीमा लेखिएको प्लेकार्ड बोकेर सडकमा सुत्न गए । के यो कांग्रेसभित्र देखिएको राजनीतिक यथास्थितिवादी प्रवृतिको प्रर्दशन र बैचारिक, सैद्धान्तिक र व्यवहारिकतामा देखिएको संकटले होइन र ? के यो बैचारिक विद्रोहको सून्य अवस्था होइन र ? यो समाजवादी नेता रामचन्द्र पौडेलले बुझ्न जरुरी छ ।

माथि उल्लेखित कृष्ण प्रसाद कोइराला, विपी, गिरिजाप्रसाद, वर्निस्ताईन र रोजा लजेम्वर्गको बिद्रोहले राजनीतिक व्यवस्था र पद्दतीमा गरेको रुपान्तरणलाई समाज निर्माणको दृष्टिकोणबाट हेर्दा उचित हुन्छ । बिद्रोहलाई नयाँ समय र परिस्थिको प्रथम अवस्थाको रुपमा स्वीकार गर्नु उचित हुन्छ । नयाँ बैचारिक बहस र विद्रोहको शुरुवात रामचन्द्र पौडेलले किन नगर्ने रु जय होस् ।

(लेखकः नेपाली कांग्रेसका नेता हुन्)