
काठमाडौं । गत बुधबारदेखि परेको अविरल वर्षाका कारण नवलपरासी, नवलपुर, रुपन्देही र कपिलवस्तुका विभिन्न स्थान डुबानमा परेका छन् ।
रुपन्देहीका बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, भैरहवालगायतका अधिकांश भूभाग डुवानमा परेका छन् । मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाका ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी, कोटहिमाई, सिद्धार्थनगर, तिलोत्तमा लगायतका स्थान डुबानबाट बढी प्रभावित छन् ।

यता, नवलपरासीको परासी बजार पनि पूर्ण रूपमा डुवेको छ भने बजारका सबै घरमा पानी पसेको छ । परासी बजारमा डुबानमा परेकाहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको छ ।
रूपन्देहीका तिनाउ, रोहिणी, कन्चन तथा कपिलवस्तुको वाणगंगा नदीमा जल सतह निकै माथि आएको छ । ती सबै ठाउँ जलमग्न भएकोले क्षतिको विवरण संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ ।
यता, नवलपुरमा पनि बाढीले ठाउँ ठाउँमा डुबाएको छ ।
प्रतिक्रिया दिनुहोस्