९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हलो जोत्दा सीता भेट्टाएको देशमा, ‘टेलिभजन सो’मा नेता किन नभेट्नु ?


0
Shares

-संजिव कार्की 

आकस्मिक रुपमा नेता जन्मन सक्दैन तर हाइ टेक्न्लोजीको जमानामा यसलाई अस्विकार गरिहाल्न पनि सकिदैन । पुरानो मान्यता र सोचमा अभ्यस्तलाई यो आश्चर्यको विषय बन्न सक्छ । तर आँट गरेपछि सम्भावना नभएको क्षेत्र र ठाउँ हुन्न । नेता फुत्त प्रकट हुन सक्छ, जादुयी चमत्कार देखाउन सक्छ । हाम्रो मानसिकता पनि चमत्कारिक नेता पैदा होस् । सारा समस्या ‘छु मन्तर’ गरेर हटाओस । नेता सर्वगुण सम्पन्न बनोस । अपर्याप्तता भन्ने कुरा नेतामा नहोस । मानौ त्यो भगवान हो उसले नजानेको र गर्न नसक्ने कुरै केही नहोस् । उ सर्वसक्तिमान बनोस, हाम्रो अपेक्षा सोचाई र आग्रह यही हुनेछ ।

हरेक पार्टीका कार्यकर्ता आफ्ना नेतामा त्यो छवी र जादुको खोजी गर्छ । हरेक नयाँ मान्छेको आगमनमा मान्छे उप्रति त्यो विश्वास र भ्रम पाल्छ । भ्रम यस मानेमा कि हरेक पार्टीका नेतालाई आफ्नो पार्टीका नेतामा त्यो क्षमता देखेको हुन्छ । आजसम्म नेता टिभी सो मार्फत जन्मिएको उदाहरण छैन । तर हाम्रो देशमा त्यो पनि अब प्रयोग हुँदैछ । मुर्धन्य कलाकार जन्माउन सक्ने टिभी प्रोग्रामहरुले नेता उत्पादन गर्ने सोच आफैंमा राम्रो र असल सुरुवात हो ।

प्रयोग स्वयंमा नराम्रो होइन । प्रयोग भनेकै नयाँ खोजीको लागि नयाँ खोज र क्षमताले प्रयोग गर्ने बिधि र पद्दति हो । प्रयोग आफैंमा जोखिम हो । खतरा हो । तर त्यो जोखिम र खतरा मोल्नेले सफलताको सपना पनि देखेको हुन्छ । टेलिभिजन पत्रकारिता मार्फत आफ्नो ख्याती र सफलता चुल्याएका रवि लामिछाने नयाँ जोखिम लिएर एउटा कार्यक्रम गर्दैछन । जसको सफलता र असफलताले उनका भावी दिनहरुको सुखद र दुखद यात्राको तय गर्दछ । नेता, राजनीतिक पार्टी देशको,अदालत ,प्रहरी प्रशासन, सेवा प्रदायक राज्यका अंगहरु अविश्वसनीय हुनाले, हुन थालेकोले जनता रवीले उठाउने सबाल मार्फत इन्साफ र न्यायको खोजीमा छन् ।

रविको पत्रकारिता फस्टाएको राज्यको निरीहता, अप्रभावकारी कार्यशैली, ढिलासुस्ती, न्याय सम्पादनमा पहुँचको बाहुल्यता जस्ता निकम्मा प्रणाली र समस्या समाधानमा राज्य उदासिन हुनुको कारण पनि हो । डा. गोविन्द केसीको सत्याग्रह राज्य बलियो हुन्थ्यो भने निस्प्रभावी र हावादारी पहिल्यै ठहर्थ्यो । झन् दुई तिहाइको कम्युनिस्ट सरकारले शिक्षा र स्वास्थ्य राज्यको दायित्त्व भित्र राखेर स्वस्थ रहने र क्षमता अनुसार उच्च शिक्षा पढ्न पाउने अवसर मौलिक हक भनेर राज्यले ग्यारेन्टीको अभिभावकीय जिम्वेवारी बोध गरेको दिन डाक्टर केसीको आन्दोलनको औचित्य र उपादेयता सकिएको दुई वर्ष भै सक्थ्यो । आज मेडिकल कलेजका बिद्यार्थी आन्दोलन गरेर परीक्षा बहिस्कार जस्तो आत्मघाती झैँ देखिने निर्णय गर्न बाध्य हुन्थेनन । स्वस्थ्य जस्तो संवेदनशील क्षेत्र मेरो व्यापार गर्ने थलो भनेर बसुरिद्दीन अन्सारी जस्ता ब्यापारी ‘लुटको स्वर्ग’ सम्झेर विद्यार्थीमाथि आक्रामक हुदैनथे ।

जनताको स्वास्थ्यको जिम्मा राज्यले लिएको हुन्थ्यो भने ओलीको उपचारमा आधा वर्षकै नेपालको बजेट खर्च भएपनि बजेट भन्दा ओलीको ज्यान ठूलो भनेर जनता सधै शीघ्र स्वास्थ्य लाभ र दीर्घायूको लागि तपस्यामा लीन बन्थे । ढुङ्गो कुटीकुटी सराप्ने अमानवीयता प्रदर्शन गर्दैनथे । केही मान्छेहरु भेला भएर भ्रष्टाचार बिरोधी नारा र भाषण गर्दा मान्छेहरु आकर्षित हुनुको कारण पनि देशमा ब्याप्त असिम र जताततै र चरम भ्रष्टाचार हुनुको कारण हो । उग्र भ्रष्टाचार बिरोधी नारा र भाषण गरेकै कारण मान्छेहरु रातारात सेलिब्रेटी बनेका छन । सरकार र विसंगतिको बिरोध सतहमा गरेको भरमा मान्छेहरु अभियन्ताको इतिहास नहेरी पछि लाग्छन । त्यो अति विश्वास र सरकारहरु प्रतिको वितृष्णाको परिणाम हो । जो र जुन पात्रमा पनि चामत्कारिक अपेक्षाको कारण विश्वास गरिएको पात्रमा छिटो मोह भंग हुन पुग्छ ।

हामी थुप्रै अमुक-अमुक पात्रसँग थुप्रैपटक, पटकपटक आशावादी भएको त्यसै होइन । हाम्रो मन मस्तिष्कमा गहिरोसँग जरा गाडेर बसेको बिभिन्न दन्त्य कथाको राजकुमार राजकुमारीहरुलाई नायक नायिका मान्दै हुर्के बढेको बाल्यकालीन स्मृति र मनोविज्ञान पनि छ । हाम्रा कथाहरुमा धेरै पटक, धेरै ठाउँमा एकादेशको राजकुमार वायूपंखी घोडा चढेर आउने अनि आपद बिपदमा परेकालाई उद्दार गरेर फर्कने मिठा मिठा कथाको शृंखला छ । वायूपंखी घोडा चढेर आउने र हरेक समस्याको सामधान ‘छु मन्तर’ गरेर सल्टाउने मनोविज्ञान आज पनि हामीमा उस्तै छ । जस्तो हिजो थियो त्यही चेत अन्तर मनमा रहेको त्यो शुसुप्त आकांक्षा कसैको नविन उपस्थितिमा हाम्रो मस्तिष्कले खोजिरहन्छ । जादुयी नायकत्वको अपेक्षा गरिरहन्छ तव हामी मान्छेलाई त्यही वायूपंखी घोड सवार अलौकिक भगवानको श्रेणीमा प्रतिस्थापन गर्न लागिहाल्छौं । यही विश्वासको कारण रवीले गल्ती गर्दैनन् , कुलमानमा थोरै पनि झुट बोल्दैनन, गोविन्द केसीका हरेक कुरामा निष्ठा मात्रै हुन्छन, केपीले देशको भलाई भन्दा अरु सोच्दैनन् । महावीर अनुसन्धान भन्दा अलिकति पनि दाँयाबाँया लाग्दैनन् भन्ने हामी मिथ्या भ्रम पालेर बसेका हुन्छौ ।

यिनीहरु पनि मान्छे हुन गल्ती कमजोरी गर्न सक्छन भन्ने आलोचनात्मक चेत हुन्थ्यो भने अति विश्वासमा कमी  आउथ्यो । कसैलाई समर्थन गरेपछि आलोचनात्मक चेतलाई बर्जित र बन्देज गर्छौ त्यसैले अति विश्वासको कारण छिटै धोका र बेमान महशुस गर्छौ । आफूले पालेको भ्रमको कारण आफैंलाई धोका भएको छ । तसर्थ कसैलाई पनि आँखा चिम्लेर विश्वास गर्नुको कारणमा पुनरावलोकन गर्न सकियो भने कसैप्रति पनि छिटो विश्वास र छिटो मोहभंग हुने स्थिति बन्दैन । मानव दोषरहित जन्मेको छैन कम दोषरहित मान्छे खोज्नु, देशका नेता रोज्नु हाम्रो आवश्यक धरातलीय यथार्थ हो । त्यसैले नेता जन्माउने छुट्टै कारखाना भन्दा नेता अर्जाप्ने, नेतालाई पाइन हाल्ने, धार लगाउने आरनको विशेष खाँचो छ ।

नेता देशको आवश्यकता, धरातलीय यथार्थ र समाज विज्ञानको चेतनाको स्तरले जन्माउने खोज्ने र विकसित गर्ने हो । रवी लामिछानेको प्रयास र साहसलाई निरुत्साहित गरिहाल्नु पर्ने बेला यो होइन । किनकी नयाँ प्रविधि विकास र चेतनाको युगमा नेता कतै रियालिटी सो बाटै जन्मन्छ कि ? हामी हलो जोत्दा सीता भेट्टाएको संस्कृति र संस्कार भएका नेपाली हौं । असम्भव केही देख्दैनौ । रवीले छनौट गरेका दुई निर्णायक बाबुराम भट्टराई र रविन्द्र मिश्रको क्षमता र लिडरसिप माथि थुप्रै प्रश्न, आलोचना र जिज्ञासा उत्पन्न भएछ उहाँहरुको सन्दर्भमा यति मात्रै भन्न सकिन्छ । सुन्दरी प्रतियोगिताका निर्णायक प्रतियोगी भन्दा सुन्दर नै हुनुपर्छ भन्ने छैन ।

‘द लिडर’ नामक रियालिटी सो अर्थात राजनेताको खोजीबाट पक्कै मार्क्स पैदा नहोलान ? लिंकन र महाथिर हाम्रा भूमिमा न आउलान ? गान्धी र चे हाम्रा लागि पुनर्जन्म लिन न मान्लान ? अब्राहम लिक्वन र महाथिर हाम्रो सपना नहोलान ? तर पक्कै कोही जन्मन्छ । नेपाली माटो कै नेपाली पानी खाएकै कोही अवतार लिनेछ । नेपाली जनता नयाँ र अनौठा प्रयोगलाई छिटो आत्मसाथ गर्न र सपना किन्न हतारमा छन । सपना बेच्नेहरु नै राजनीतिमा मालामाल भएको देश हो हाम्रो । सपना छिटो बिक्ने मुलुकमा हामी अग्रभागमा छौ शायद ।

यदि बिपनामा र देशको माया हुन्थ्यो भने पृथ्वीनारायण शाहलाई भुल्ने हाम्रो कु-बुद्धी हुदैनथ्यो । रियल ग्राउण्डवाट उठेकाले देश बनाउन नसक्दा रियालिटी सो अर्थात बनिबनाउ सो कृतिमता र बनिबनाउ अनि रेडिमेड जबाफ (हालसम्मको अभ्यास) बोक्ने नेताबाट देश सपार्ने हाम्रो अभिलाषा र महत्वाकांक्षामा रवीले भर्‍याङ हालिदिएका छन । हामी छिटै तीव्र वेगमा नेता समात्न कुद्छौ नै । फेरि अर्को राजकुमार वायुपंखी घोडा चढेर बादलको छायाँ पारेर, बादल पन्छाउदै बादलसँग लुकामारी खेल्दै हाम्रोसामू आउनेछ । देशको गति, राजनीतिक अवस्थिति र परिवर्तनको नियमले नयाँ राजनेता मात्रै होइन नयाँ नयाँ राजनेताहरुको आगमन निश्चित छ । किनकी हाम्रा नेताहरु अवकाश लिने समय गुजार्दै छन् । हाम्रा नेताहरुको पनि हतार र उत्सुकतापूर्वक नयाँ राजनेतालाई स्वागत गरेर सिट खाली गरिदिन आतुर देखिएका छन ।

नेता नीति कार्यक्रम, सपना र योजना पस्केर नै बन्ने हो । सार्वजनिक स्टेजमार्फत आफ्ना भिजन भजाएर नेता निस्कन्छ भने आपत्ति किन कसैलाई होस ? जमाना नयाँ तरिका नयाँ प्रबिधि नयाँ छ भने नेता नयाँ र प्रबिधिमैत्री, सपनामैत्री हुन नमिल्ने कुरै छैन । नेताको अनुहार, प्रचण्ड, केपी, राजेन्द्र, देउवा जोसँग मिलोस तर त्यो नेपाली मात्रको होस् । हाम्रो कामना यति हो । अनुहार तत, तत् नेतासंग मिले पनि प्रवृति नमिलोस । उस्तै हुने संयोग नजुरोस । नेता आइडल जन्मोस तर भाइरल होइन । हामी भाइरलको पछि कुदने जमानामा छौं यतिबेला पारस पनि भाइरल छन । ज्ञानेन्द्र नाँच्दा समेत भाइरल बन्छन । बाबा भाइरल छन, सन्त भाइरल छन, माता भाइरल छन । भाइरल यूट्युबरको लागि व्यापार गर्न खाँचो हो हाम्रा नेता बन्न होइन । हामी खारिएका नेताले अघाएका छौं । संघर्षमा अब्बल हुनेहरु सत्ताको ब्यबस्थापकीय जिम्वेवारीमा कमशल रहे त्यसैले पनि नेता जन्माउने अत्याधुनिक प्रबिधियुक्त कारखाना र नर्सरी आवश्यक परेको हो । जसको पूर्ति रवि लामिछानेको रियल सो मार्फत पुरा होस् ।

देश जसले बनाए पनि हुन्छ । जुन नेताले बनाए पनि हुन्छ । वस, देश बन्नुपर्‍यो । नेता जन्माउने कारखाना र नर्सरी जसको बारीको भए पनि हुन्छ तर त्यो विशुद्ध नेपाली ब्रान्डको हुनुपर्‍यो । जन्मनु पर्‍यो । देश बनाउने ठेक्का अहिले भएका नेताहरुले पाए तर देश बनाउन सकेनन जानेनन । हामीलाई अहिले विश्व कै उत्कृष्ट नेताहरु पनि हैन नेपालको लागि उत्कृष्ट भए पुग्छ । अवसर नपाएकाले अवसर पाउने बातावरण पक्कै बन्नेछ । रवीको सो हाउसफुल हुनेछ । सुपर डुपर रहनेछ । राजनीति पनि फोहोर, राजनीतिकर्मी पनि फोहोर भएको अवस्थाबाट देशलाई मुक्ति दिन पनि आर्थिक, नैतिक सामाजिक र भौतिक अनि मानसिक रुपमा स्वस्थ्य नेता चाहिएको छ । बलात्कार गरेर बुद्ध र गान्धी जन्माउछु भन्ने ज्यादती सहने नेपाली टेलिभिजन कार्यक्रमबाट राजनेता छान्न पाउने अवसरलाई चुकाउन चाहदैनन् । जय होस रविको ।