२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


चाक्सीबारी बैठक: पौडेलले देउवासँग आजै भेटेर कुरा गर्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको पौडेल समूहको आज चाक्सीबरीमा बसेको बैठकले रामचन्द्र पौडेलले आजै सभापति शेरबहादुर देउवालाई भेटेर देखिएका समस्याहरुबारे कुरा गर्ने निर्णय गरेको छ । नेता प्रकाशमान सि‌हकाे निवास चाक्सीबारीमा बसेकाे पाैडेल समूहकाे बैठकले वरिष्ठ नेता पाैडेलले सभापति देउवासँग भेटेर पार्टीमा देखिएका सबै समस्याबारे छलफल गर्ने निर्णय भएकाे हाे ।

चाक्सीबारीमा भएको छलफलपछि आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिनेन्द्र रिजालले वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर कुरा गरेपछि सबै समस्या समाधान हुने बताउनुभयो । आजै दुई नेताबीच भेटघाटको कार्यक्रम रहेको पनि रिजालले जानकारी दिनुभयो ।

रिजालले पार्टीको महाधिवेशन सबैलाई चित बुझाएर गर्ने बताउनुभएको छ । व्यवहारिक विवादहरुको समाधान गर्दै पार्टी महाधिवेशन समयमै सक्ने प्रयास जारी रहेको रिजालले बताउनुभयो ।

‘अधिवेशनको प्रक्रिया बढिरहेका छौं व्यवहारिक कठिनाइलाई समाधान गर्नुपर्छ, केही सभापतिहरु क्रियाशीलताको कुरा उठाएर अनसनमा बस्नुभएको छ यी सबै समाधान गरेर महाधिवेशन गर्ने दायित्व छ’ ,रिजालले भन्नुभयो । क्रियाशील सदस्यता विवाद समितिले दिएका सुझावको कार्यानव्यन भएपछि सबै जिल्लाको क्रियाशील सदस्यता विवरण आउने उहाँको भनाइ छ ।

पौडेल समूहको आजको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु शेखर कोइराला, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल, बलबहादुर केसीलगायतका नेताहरु छलफलमा सहभागी थिए ।