२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


टक्सारको संरक्षणमा जुट्दै ओखलढुंगाका स्थानीय


0
Shares

ओखलढुंगा । ओखलढुंगाका स्थानीय टक्सारको संरक्षणमा जुटेका छन् । सिद्धिचरण नगरपालिका– ७ टक्सारमा अवस्थित दुई सय वर्ष पुरानो अनुमान गरिएको ऐतिहासिक टक अर्थात पैसा काट्ने ठाउँको संरक्षण थालिएको छ ।

ओझेलमा परेको टक्सारमा टक काटिएका केही प्रमाणहरु भेटिएपछि स्थानीयले यस क्षेत्रको संरक्षण गर्न थालेका हुन् । भोजपुरको टक्सारसँग समकालीन मानिने यहाँको टक्सारमा तत्कालीन समयमा टक काटेको ढुंगा, तामाको धातुबाट निस्किएको किट र डोली पैसासमेत भेटिएको छ।

लामो समयदेखि खोजी नहुँदा गुमनाम हुने अवस्थामा पुगेको टक्सार क्षेत्रको संरक्षणमा अहिले स्थानीय आफैं जुटेका हुन् । तत्कालीन समयमा ओखलढुंगामा भएका खानीहरूबाट निकालिएको तामालाई टक काट्न टक्सार स्थापना गरिएको अनुमान गरिन्छ ।

टक्सारलाई ऐतिहासिक स्थलको रूपमा विकास गर्न टक्सार क्षेत्रका प्रमाणहरु जुटाउने, टक्सार संरक्षण समिति गठन गरेर व्यक्तिको नाममा भएको जग्गा ल्याउने र स्मारक बनाउने योजना बनाइएको सिद्धिचरण नगरपालिका– ७ का वडाध्यक्ष वमबहादुर राईले बताउनु भयो ।