
काठमाडौं । जनता समाजवादी पार्टीबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा अहिलेसम्म निर्णय नभइसकेको बताउनुभएको छ ।
पार्टी कार्यालय बबरमहलमा पार्टीको झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ठाकुरले सरकारमा जाने विषयमा तत्काल पार्टीमा कुनै पनि छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको विषयमा अहिले हाम्रो कुनै कुराकानी भएको छैन, आफूहरूको माग सम्बोधनको सन्दर्भमा कुरा नभइ सरकारमा जाने कुरा हुँदैन ।’
यसअघिका मागहरूमा आफूहरू अझै दृढ रहेको भन्दै अध्यक्ष ठाकुरले संविधान संशोधन, नागरिकता, मधेश आन्दोलनका संलग्नलाई जेलमुक्त गर्ने विषयमा अझै सक्रिय भएर लाग्ने बताउनुभयो । उत्पीडित, महिला, जनजाति, आदीवासीको विषयलमाई आफूहरूले उठाउने बताउँदै उहाँले समानताका आधारमा राजकाजमा समावेश हुनुपर्नेमा जोड दिनुभयो ।
पहिचानको आधारमा भइरहेको विभेदको अन्त्य गर्नुपर्नेमा अध्यक्ष ठाकुरको जोड छ । सीमामा बस्ने नागरिक राज्यले दिनुपर्ने सामान्य सुविधाबाट बञ्चित भएको उल्लेख गर्दै उहाँले देशको नागरिक भएपछि सबैको समान अधिकार हुनुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगारीको विषय मुख्य भएको भन्दै कम्तीमा यी तीन विषयको ग्यारेन्टी हुनुपर्ने बताउनुभयो ।
सरकारले कुनै पनि विषया नकारात्मक जवाफ नदिएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले वार्ता र सम्वादमार्फत आफ्नो मागहरू पूरा गर्ने दिशमा पार्टी अग्रसर हुने बताउनुभयो । शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि मधेशका मानिसहरू किन मारिनुपरेको र कार्यकर्ता किन जेल बस्नुपर्यो भन्दै उहाँले सरकारमाथि प्रश्न गर्नुभएको छ ।
निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उहाँले अहिले नै गठबन्धन बनाएर जाने विषयन नसोचेको बताउनुभयो । ‘चुनाव नै घोषणा नभएकाले अहिले त्यस विषयमा सोचेको छैनौं’ उहाँले भन्नुभयो, ‘चुनाव घोषणा भएपछि विचार गरौंला ।’
प्रतिक्रिया दिनुहोस्