
हरि शर्मा
परासी । मध्यरातमा एक्कासी आएको बाढीले बिहीबार रातिदेखि शुक्रबार दिनभर पश्चिम नवलपरासीको जनजीवन प्रभावित रह्यो । बाढीका कारण जिल्लाका सबैजसो पालिकाहरू डुबानमा परे । सबैभन्दा बढी सदरमुकाम परासी प्रभावित बन्यो ।
राति २ बजेको मस्त निद्रामा रहेका स्थानीय एक्कासी कोठाभित्र पसेको पानीको चिसोले ब्युझिए । कोठाभित्र पानी पसिसकेका कारण खाद्यन्नदेखि लत्ताकपडालगायतका सामग्री स्थानीयले स्याहार्न पाएनन् । जिउ जोगाउन घरको छतमा बसेर मध्यरातमा हारगुहारको आवाज मात्र सुनिन्थ्यो ।
स्थानीयहरू एकसरो लुगामा घरको छत र उचोँ स्थानमा ज्यान जोगाउन पुगेका थिए । दिउँसो १ बजेसम्म पनि पानीको सतह नघटेपछि बालबालिकाहरू भोकले चिच्चाइरहेका थिए । छिमेकीहरू पनि त्यस्तै अवस्थामा रहेकाले एकअर्कालाई सहयोग गर्न सक्ने अवस्था देखिएन ।
डुबानमा परेकाहरूलाई उद्दार गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली डुबान क्षेत्रमा पुगे पनि पानीको सतह र बेगका कारण उद्दारमा दिनभर कठिनाइ भयो । स्थानीयहरू छतमा सुरक्षित देखेपछि सुरक्षाकर्मीले इशाराबाट सान्त्वना दिइरहेका थिए ।
१० वटा बाहेक सरदमुकामका सबै घर डुबानमा परेका छन् । विगतमा डुबान हुने भए पनि सदरमुकाम परासीमा आएको यो सबैभन्दा ठूलो बाढी रहेको स्थानीय बताउँछन् । दिउँसो २ बजेदेखि पानीको सतह घट्दै गएको छ ।
सदरमुकामसँगै पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिनुभयो । अधिकांश घर डुबानमा परेका कारण क्षतिको विवरण यकिन हुन नसकेको लामाले बताउनुभयो ।
सदरमुकाममा स्थानीय झरही खोलाबाट आएको घर डुबानमा परेका हुन् भने अन्य स्थानीय तहमा स्थानीय खोलाका कारण डुबानमा परेका हुन् । पानीको निकास नभएका कारण घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
यसैबीच नेपाली सेनाको बज्रदल गण परासीमा करिब १५ फिटसम्म पानी जमेको थियो भने जिल्ला प्रहरी कार्यालयमा ६ फिटमाथि सम्म पानी जमेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु लामाले बताउनुभयो । जलमग्न भएपछि सुरक्षाकर्मीहरू हतियारको व्यवस्थापनमा समेत समस्या भएको थियो । यद्यपि सुरक्षित राख्न सफल भएको प्रहरीले जनाएको छ ।
दुई जनाको मृत्यु, एक बेपत्ता
बाढीका कारण रामग्राम–१६ पम्फापुरका ३८ वर्षीय विनोद पासी र उनका छोरा १३ वर्षीय प्रदिप पासीको मृत्यु भएको प्रहरीले जनाएको छ । राति २ बजे घरमा बाढी पसेपछि आश्रयका लागि आफन्तको घरमा जाने क्रममा भेलले बगाएको हो । दुवै जनाको शव घर नजिकैको खेतमा फेला परेको डिएसपी लामाले जानकारी दिनुभयो । त्यसैगरी बाढीबाट ज्यान जोगाउन निस्कँदा सुनवल–१३ की ओरिसा तामाङलाई भेलले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध
बाढीका कारण पूर्वपश्चिम राजमार्गका बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध छ । तुरिया खोलामा आएको बाढीले पुल भाँचेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन समेत बगाएको छ । अवरुद्ध राजमार्ग तत्काल खुल्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्