
काठमाडौं । भारत सरकारले नेपालका बाढी प्रभावितहरुका लागि आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरूका लागि भारत सरकारले नेपाल–भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हन्तान्तरण गरेको हो ।
भारतीय राजदूताबासकी मिसन उप–प्रमुख नामग्या खम्पाले नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुका लागि वितरण गर्न लागिएको टेन्ट, प्लास्टिक सिट, स्लीपिङ्ग म्याट र औषधिहरू हस्तान्तरण गर्नुभएको हो ।
सहयोग हस्तान्तरण गर्दै मिसन उप–प्रमुख नामग्या खम्पाले राहत वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाल र भारतले बाढी व्यवस्थापनको क्षेत्रमा दशकौंदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले यस सहयोगले बाढी प्रभावित स्थानीय जनताको कठिनाइमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले बाढी प्रभावितका लागि उपलब्ध गराएको राहत सामग्री प्रदेश नं. २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा र लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाका बाढी प्रभावितहरुका लागि मंगलबारदेखि वितरण गरिने जानकारी दिनुभयो ।
प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकालले गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लाका बाढी तथा पहिरो पीडितका लागि राहत सामग्री वितरण गर्ने बताउनुभयो । उहाँले आफूहरू सम्बन्धित ठाउँमै पुगेर वास्तविक प्रभावितलाई राहत सामग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्