
गृष्मा राजभण्डारी
काठमाडौं । नारायणहिटी संग्रहालयमा रहेको एभ्रो विमान कुनै समय राजा वीरेन्द्रको निजी विमानको रूपमा उपयोग हुन्थ्यो । सर्वसाधारणका लागि प्रदर्शनको तयारीमा रहेको यो विमानभित्र उसैबेला राजपरिवारको सुविधाका लागि विशेष क्याविन कक्ष बनाइएको थियो ।
बेलायतबाट सन् १९७५ मा किनिएको एन ए ०२० कल साइनको विमान राजा वीरेन्द्र र राजपरिवारका सदस्यहरूको भीआईपी उडानमा प्रयोग गरिन्थ्यो । निक्कै नै जीर्ण अवस्थामा रहेको विमानमा सामान्य विमानभन्दा अलग सजावट छ ।
राजपरिवारका सदस्यले चढ्ने भएपछि यो विमानमा फ्रिजको व्यवस्था गरिएको थियो । जुन अहिले खिया लागिसकेको अवस्थामा छ । राजाको निजी र भिआइपी उडानमा नेपाली सेनाका पाइलट र तात्कालिन शाही नेपाल वायुसेवा निगमका पाइलटले चलाउने गर्दर्थे ।
सन १९७५ देखि सन् १९८० गरी पाँच वर्षसम्म दरबारको निजी विमानको रूपमा यसको उपयोग गरिएको थियो । यो विमान सन् १९८० मा नेपाली सेनालाई हस्तान्तरण गरिएको हो ।
सन् १९९२ मा भारतको अयोध्यामा भएको बाबरी मस्जिद काण्डमा राजा वीरेन्द्रको परिवार भारत भ्रमणमा थिए । उक्त समयमा यही विमानबाट उद्धार भएको थियो । त्यसपछि मुलुकमा हुने प्राकृतिक प्रकोपमा यही विमानले वर्षौं मानवीय उद्धारको काम गरेको थियो ।
अब लागौं हेलिकोप्टरतर्फ । राजा वीरेन्द्रको एन ए ०३१ कलसाइनको निजी हेलिकोप्टर थियो । हेलिकोप्टर आफैँ चलाएर राजा वीरेन्द्रले दर्जनौं जिल्लाको भ्रमण गर्नुभएको थियो । हेलिकप्टरको भित्री बनावट अहिले जीर्ण बनिसकेको छ ।
राजा वीरेन्द्रले यही हेलिकोप्टरबाट उडान कला सिक्नुभएको बताइन्छ । नेपाली सेनाको जिम्मामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको हेलिकप्टर पनि सर्वसाधारणको अवलोकनका लागि राखिने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्