१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ईमेजखबर प्रभाव : गल्ती स्वीकार्दै हटाइयो स्वयम्भू संग्रहालयमा थुपारिएका सामान (भिडियो)


13
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । युनेस्को विश्व सम्पदामा सूचिकृत स्वयम्भू महाचैत्य परिसरमा रहेको संग्रहालय गोदाममा परिणत हुनबाट बचेको छ । गत बुधबार ईमेज खबरमा समाचार प्रकाशित भएपछि स्वयम्भू विकास मण्डलले थुपारिएका सामाग्री हटाएको हो ।

पुरातात्विक र ऐतिहासिक महत्वलाई बेवास्ता गर्दै गत बुधबार स्वयम्भू बौद्ध मूर्ति संग्रहालयभित्र विभिन्न सामानहरू थुपारिएको थियो । गोदाम जस्तै देखिने गरी पसलमा बेचिने फलफूल बोरा–बोरामा थुपारिएको थियो । आइसक्रिम खाएर फोहर मुर्तिमै फालिएको थियो भने फ्रिज लगायतका सामानहरू थुपारिएको थियो । संग्रहालयको मुलढोकामै खानेपानीका बोटल बेच्न राखिएको थियो ।

सम्बन्धित समाचार–
स्वयम्भू महाचैत्यको संग्रहालय गोदाममा परिणत, सदियौं पुराना मूर्तिमाथि आइसक्रिमका विज्ञापन

तर, अहिले यो सबै स्वयम्भू विकास मण्डलको निर्देशनमा हटाइएको छ । शुक्रबार इमेज खबरको टिम फलोअपको लागि जाँदा संग्रहालयबाट यी सामानहरू हटाएर सफा गरेर राखेको पाइयो । मण्डलले गल्ती महशुस गर्दै सामानहरु हटाउन लगाएको हो । संग्रहालय रेखदेख गरिरहेका सुपेन्द्र बुद्धाचार्यले गल्ती भएको स्वीकार्दै सामानहरू हटाएको बताउनुभयो ।

संग्रहालयमा स्वयम्भूकै ज्योतिकीर्ति महाविहार र बौद्ध दर्शन र कलासँग सम्बन्धित महत्वपूर्ण सयौं मूर्तिहरू राखिएको छ । मुर्तिहरू धुलै धुलो भरिएको सिसाभित्र यथावत् नै छ । मूर्तिको सरसफाइमा पनि ध्यान दिने मण्डलले जनाएको छ । बुद्धाचार्यले संग्रहालयलाई संग्रहालयकै रूपमा विकास गर्दै लैजाने विषयमा छलफल सुरु भएको जानकारी दिनुभयो ।

मूर्त–अमूर्त सम्पदाको भण्डार स्वयम्भू महाचैत्य परिसरमा भएको गलत क्रियाकलापलाई स्वीकारेर सुधार गर्नु पक्कै राम्रो कार्य हो । आगामी दिनमा यसलाई निरन्तरता दिनु आवश्यक छ । विश्व सम्पदामा क्षेत्रमा हुने अन्य गलत क्रियाकलाप रोक्न सबै लाग्नुपर्छ ।