१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‍निर्यात प्रवर्द्धनका लागि महासंघद्वारा उद्योग मन्त्रालयसमक्ष सुझाव पेश


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालको निर्यात प्रवर्द्धनका लागि चाल्नुपर्ने कदमका सन्दर्भमा उद्योग मन्त्रालयलाई सुझाव पेश गरेको छ ।

महासंघले निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवर्द्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्ने, निर्यात प्रवर्द्धनका लागि निर्यात प्रोत्साहन अनुदान कम्तिमा १० प्रतिशत हुनपर्ने सुझाएको छ ।

यसअघि सामूहिक ट्रेडमार्ग, तेस्रो मुलुक निर्यात गर्नेलाई थप प्रोत्साहनको व्यवस्था गरी फरक-फरक वस्तुका लागि नगद अनुदान रकम छुट्याइनु पर्ने सुझाव पनि महासंघको छ ।

त्यसैगरी नगद अनुदान प्राप्तिको प्रक्रिया झन्झटीलो भएकाले सरलरूपमा निकासी भएको विन्दुबाट ७ दिनभित्र सम्बन्धित उद्योग व्यवसायको बैंक खातामा अनलाइन भुक्तानीको व्यवस्था गरिनुपर्नेमा महासंघको जोड छ ।

निर्यातको प्रत्येक अर्डरका लागि पुनरकर्जाको व्यवस्था हुनुपर्ने, नेपालबाट निर्यात गर्ने सामानको ढुवानी भाडामा पचास प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने पनि महासंघको सुझाव छ ।

कृषि क्षेत्रलाई दिएको ब्याज दरमा सरल सुलभ रूपमा ऋण उपलव्ध गराउनु पर्ने, सबै निर्यात गर्ने उद्योगहरूलाई निर्यातमा कर छुट र ड्यूटी ड्र ब्याक फिर्ता पाउने व्यवस्था हुनपर्ने सुझाव महासंघले दिएको छ ।

अलैँची, अदुवाजस्ता कृषि उत्पादनहरूको सम्भावित बजार बंगलादेश भए पनि नेपालबाट जाने अलैँचीमा ३५ प्रतिशत भन्सार महशुल लगाएको र निर्यात गर्न समेत समस्या देखिएकाले यसतर्फ सरकारले अविलम्व पहल गर्न पनि महासंघले मन्त्रालयको ध्यानाकर्षण गरेको छ ।