२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण, प्रभावितहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन सरकारको निर्देशन


0
Shares

काठमाडौं । सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधिको समन्वयमा राहत वितरणको काम सुरु भएको जनाएको छ। लगातारको वर्षापछि बढी प्रभावित नवलपरासी, रुपन्देही, बाँके, दाङ, कैलाली, महोत्तरी, कञ्चनपुरलगायतका जिल्लामा विवरण संकलन र राहतको व्यवस्थापन थालिएको हो ।

अप्ठ्यारोमा परेकालाई सुरक्षित ठाउँमा ल्याउने र अस्थायी बसोबासको काममा पनि पालिकाको समन्वयमा भइरहेको गृहमन्त्रालयले जनाएको छ । नवलपुरमा पहिरोमा तीन जना र ललितपुरमा शुभाने खोलाले बगाउँदा एक बालिका बेपत्ता भएका हुनु भएको छ ।

नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा बेपत्ता तीन जनाको आज बिहानैदेखि खोजी थालिएको छ । बेपत्ता भएका तीन जनाको हिजोदेखि नै सुरक्षाकर्मीको टोलीले खोजी थालेको थियो । आज दिउँसो थप टोली खटाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

हुप्सेकोट गाउँपालिका–४ का हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

बाढी, पहिरो र डुबानबाट देशका धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । राजमार्ग तथा सडक र पुलमा क्षति पुगेको छ । यसअघि हिजो गृहमन्त्री बालकृष्ण खाँडले तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको थियो ।