
दुर्गा उपाध्याय
कञ्चनपुर । टिकटकमा भाइरल बन्ने लोभले युवायुवतीले अनेकन क्रियाकलाप गरिरेहका हुन्छन् । कोही नदीको किनारमा त कोही बीच सडकमै आफ्ना नृत्य र अभिनय देखाउँछन् । युवायुवती मात्र हैन, प्रौढ, वृद्धवृद्धा र केटाकेटी सबै आफ्नो चर्चा होस् भन्ने चाहन्छन् ।
नदीको किनार, डुंगा र जोखिमयुक्त ठाउँमा टिकटक बनाउने होड चलिरहँदा कतिपय त दुर्घटनाको सिकारसमेत हुनु परेको उहाहरण हामीमाझ छ । र पनि जोखिमयुक्त क्षेत्रमा टिकटक बनाउनेको संख्या घटेको छैन । गाउने गाइरहेका छन्, खिच्ने खिचिरहेका छन् भने नाच्ने र अभिनय गर्नेहरू पनि आफ्नै धुनमा छन् ।
कञ्चनपुरको महाकाली नदी किनारमा बन्दै गरेको पक्की पुल र त्यसलाई जोड्न बनाइएको पहुँच मार्ग हेर्न दैनिक सैयौं मानिस यहाँ आउने गर्छन् । नदी किनारमा फराकिलो कालोपत्रे सडक समुन्द्री तटको दृश्यभन्दा कम छैन । टिकटक बनाउन आउनेको भीडका कारण महाकाली नदी किनार अहिले ‘भाइरल सडक’को नामले परिचित छ ।
टिकटक बनाउनेको भीडले बिहानदेखि बेलुकासम्म यो सडकमा मेला लागेझैँ हुन्छ । सामान्यतया साँझपख भीड बढ्ने गरेको स्थानीय बताउँछन् । सडक नै हेर्नका लागि बिदाको दिनमा टाढा–टाढाबाट मानिसहरु आउने गर्छन् । आफूले टिकटकमा हेर्दा निकै राम्रो लागेर घुम्न आएको कैलालीको अत्तरिया आउनुभएकी मनमाया दाहाल बताउनुहुन्छ ।
महाकाली नदीमा बग्ने कलकल पानी, नदी किनारमा बनेको ६ लेन सडक र उत्तरतर्फ देखिने मनोरम पर्वतका दृश्य र बनासा पुल पर्यटकको आर्कषण बनेका छन् । त्यसमा पनि ¥याफ्टिङ्गको सुविधा भएकाले यसको चर्चा नै बेग्लै छ । पुलसँगै पोखरी र आइल्याण्ड निर्माण भएपछि यो ठाँउ नेपालकै पर्यटकीय हब बन्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्