२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ललितपुरमा बेलायती युनिभर्सिटीकै पाठ्यक्रम अध्ययन गर्न पाइने


0
Shares

काठमाडौं । नेपाली विद्यार्थीले स्वदेशमै बसेर बेलायतस्थित बर्मिङहम सिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन् ।

एशिएन इन्स्टिटयूट अफ टेक्नोलोजी एण्ड मेनेटमेन्ट(एआईटिम) कलेजले बर्मिङहम सिटी युनिभर्सिटीको कार्यक्रमहरू समावेश गरेर पठनपाठन सुरु गरेसँगै नेपाली विद्यार्थीलाई सो अवसर प्राप्त भएको हो । ललितपुरस्थित अन्तराष्ट्रिय स्तरको सो कलेजले बेलायतस्थित बर्मिङहम सिटी कलेजको कार्यक्रमहरू पनि समावेश गरेर पठनपाठनलाई अघि बढाएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपालका लागि बेलायती राजदुत निकोला पोल्लिट्टले संयुक्त रुपमा सो कार्यक्रम उद्घाटन गर्दै बाह्य मुलुकमा समेत प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा नेपालले पनि सो कलेजमार्फत् उल्लेखनिय योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कलेजले नेपालमै पहिलो पटक बर्मिङहम सिटी युनिभर्सिटीसँग साझेदारी गर्न सफल भएको दावी गर्दै गौरवको महसुस भएको जनाएको छ । कलेजका सिईयो डा. रोशन राठीले कलेजले सधैँ उच्च गुणस्तरको अन्तराष्ट्रिय शिक्षा प्रदान गरेको र आगामी दिनमा पनि बर्मिङहम सिटी युनिभर्सिटीमार्फत् नेपाल बाहिरबाट पनि विद्यार्थीहरूलाई आकर्षित गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।

खुमलटार हाइटमा रहेको यो कलेजको स्थापना सन् २०१२ साल जुन २० मा भएको थियो । १६ रोपनी जग्गामा फैलिएको यो कलेजको भौतिक पूर्वाधार उत्कृष्ट रहेको दावी गरिएको छ । कलेजले अन्तराष्ट्रिय स्तरको व्यवस्थापन संकायको स्नातक पाठ्यक्रमहरूको अध्यापन गराउँदै आएको छ ।