१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आगामी चुनावमा एमालेसँग एक्लै लड्ने आँट कसैले गर्न सक्दैन– ओली

‘नुहाउँदा एक/दुईटा केश झर्दैमा टाउको मुडुलो हुँदैन’

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गर्नुभएको छ ।

अध्यक्ष ओलीले एक्लै लडने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गर्नुभयो । शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरूले नसक्ने कुरा सबैलाई थाहा भएको दावी समेत गर्नुभयो । आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोइटिएर गए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्‍याउनु भयो । एक/दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेश गर्दै उहाँले माधव नेपालसहितका केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले जनादेशबाट नभइ विभिन्न जालझेल गरेर आफूहरूलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरू सत्तामा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता षडयन्त्रकारीहरूलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दावीसमेत गर्नुभयो । उहाँले पार्टीमा फुट नआएको पनि स्मरण गराउनुभयो । नुहाउँदा एक/दुई वटा केश झरेजस्तो केही मान्छेहरू आफैँ पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले भन्नुभयो, ‘पार्टी फुटेको होइन, केही मान्छेहरू पतित भएका हुन, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन ।’

अध्यक्ष ओलीले माधव नेपालहरूलाई एक/दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरू हिँड्दै टाउँको मुडुलो नहुने बताउनुभयो । उहाँले भन्नु भयो, ‘नुहाउँदा एक/दुईटा कपालको रौं झर्छ । जति दामी साबुन लगाए पनि, राम्रो, ब्रान्डेड साबुन लगाए पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरे पनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउको मुडुलो हुन्छ ?’