
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाईंमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो तर्क गर्नुभयो । ओलीविरुद्धको लडाइँमा ‘अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ, तर केपी ओलीलाई फाल्नै पर्छ’ भनेका सहकर्मीहरूले आफूलाई छाडेर ओलीतिरै लागेको उहाँले गुनासो गर्नुभयो । नेपालले ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरूले नै खुट्टा कमाएर हिँडेको बताउनुभयो ।
अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेतालाई पार्टीको नेतृत्व सम्हाल्न आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भइहाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु, भएन ? पदको लडाई होईन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’
एमाले विभाजनलाई एउटा सामान्य घटनाको संज्ञा दिनुभएका अध्यक्ष नेपालले व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहने टिप्पणी गर्नुभयो । गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको बताउँदै उहाँले ओलीमा सुधारका कुनै लक्षण नभएपछि विद्रोह गरेको बताउनुभयो ।
ओलीले अझै पनि प्रतिगमनबाट पछि हट्ने संकेत नदेखाएको अध्यक्ष नेपालको भनाइ छ । ओलीतिर लक्षित गर्दै उहाँले एउटा प्रधानमन्त्रीले एउटै कार्यकालमा आफ्नो कुर्सी जान्छ कि भन्ने डरले दुई÷दुई पटक प्रतिनिधिसभा नै भंग गरेको तर्क गर्नुभयो ।
माथिकाले छाडे पनि आफ्नो साथमा कार्यकर्ता रहेको बताउँदै नेपालले ओलीविरुद्ध आफूहरूले चलाएको यो अभियान पदको लडाइँ नभएको बताउनुभयो । उहाँले केशरजंग रायमाझीको दक्षिणपन्थी कदमविरुद्ध विद्रोह गरेर त्यही पार्टीमा बसेको भए पुष्पलाल पनि सिद्धिने तर्क गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्