१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतविरुद्धको तेस्रो टेस्टमा घरेलु टिम इंग्ल्यान्ड एक इनिङ्स ७६ रनले विजयी


0
Shares

काठमाडौं । घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टमा एक इनिङ्स ७६ रनको जित निकालेको छ ।

शनिबार भारतले दोस्रो इनिङ्समा २ सय ७८ रन जोड्दा अलआउट भएपछि इंग्ल्यान्ड एकै इनिङ्समा विजयी भएको हो । पहिलो इनिङ्समा इंग्ल्यान्डलाई ४ सय ३२ रनमा अलआउट गरेपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत सस्तैमा समेटियो ।

भारतका चेतेश्वर पुजाराले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहित शर्माले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहली ५५ रनमा आउट भए । इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए । क्रेग ओभर्टनले ३ तथा जेम्स एण्डरसन र मोइन अलीले १÷१ विकेट लिए ।

पहिलो इनिङ्समा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । भारतका रोहित शर्माले सर्वाधिक १९ रन बनाए । अन्जिके रहाने १८ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । इंग्ल्यान्डका जेम्स एण्डरसन र क्रेग ओभरटनले ३/३ विकेट लिए । साम कुरान र ओली रोबिन्सनले २/२ विकेट लिए ।

पहिलो इनिङ्समा कप्तान जोए रुटको शतकमा इंग्ल्यान्डले फराकिलो स्कोर खडा गरेको थियो । कप्तान रुटले १ सय २१ रनको शतकीय इनिङ्स खेले । उनको यो २३ औं टेस्ट शतक हो । यस्तै डाविड मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा हासिब हामिदले ६८ रन बनाए ।

रोरी बुर्न्सले ६१ रन जोड्दा जोनी बेयर्स्टोले २९ रन जोडे । क्रेग ओभर्टन ३२ रनमा आउट भए । भारतका मोहमद शामीले ४ विकेट लिए । मोहमद सिराज, जस्प्रित बुम्राह र रविन्द्र जडेजाले २/२ विकेट लिए । इंग्ल्यान्डको जितसँगै पाँच खेलको सिरिज १–१ को स्थितिमा पुगेको छ । पहिलो खेल बराबरी भएकोमा दोस्रो खेल भारतले १ सय ५१ रनले जितेको थियो ।