
दिपेन्द्र अधिकारी
काठमाडौं । धेरै पटक सत्ताको स्वाद चाखेको नेपाली कांग्रेसले विद्यमान शिक्षा नीति नै असफल भएको निष्कर्ष निकालेको छ ।
निजीकरणका नाममा वर्तमान शिक्षा क्षेत्र भद्रगोल हुनुमा आफ्नो प्रमुख भूमिका रहेको आलोचना खेपिरहेको कांग्रेसले १४ औं महाधिवेशनबाट पारित गर्ने गरी पार्टीको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्तावित प्रतिवेदन सार्वजनिक गरेको छ ।
शिक्षा र स्वास्थ्य निजीकरणका नाममा जनताको पहुँचबाट धेरै टाढा धकेलेको अपजस कांग्रेसमाथि छ । यसक्षेत्रमा भित्रिएका विकृति र विसंगतिको हिस्सा उसको भागमा पर्ने निश्चित छ । सरकारको नेतृत्व कांग्रेसले लिएसँगै उसले वर्तमान शिक्षा प्रणाली पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ ।
उच्च शिक्षा हासिल गरेपछि विदेश जाने ध्याउन्न नेपाली विद्यार्थीमा हाबी भएको नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख हरिप्रसाद नेपाल बताउनुहुन्छ । नेपालको शिक्षा नै माटो अनुकुल नभएको उहाँको भनाइ छ ।
केपी ओली नेतृत्वको सरकारले करोडौँ रुपैयाँ खर्च गरेर तयार गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अझैसम्म लुकाइएको आरोप कांग्रेसको छ । पार्टीको मुल आत्मा मानिने घोषणा पत्र कार्यान्वयन गर्न असफल भएको कांग्रेस, आफ्नो शिक्षा नीतिलाई सबैको साझा बनाएर कार्यान्वयनमा ल्याउने दाबी प्रमुख नेपालको छ ।
नीतिमा विश्वविद्यालयलाई पूर्ण रूपमा स्वायत्त बनाउनुपर्ने, प्रधानमन्त्री तथा शिक्षामन्त्री विश्वविद्यालयको कुलपति र सह–कुलपति रहने व्यवस्था अन्त्य गरी प्राज्ञिक व्यक्तित्वलाई नै कुलपति बनाउने प्रस्ताव गरिएको छ ।
यसैगरी, आगामी पाँच वर्षभित्र माध्यमिक तहसम्म निःशुल्क र १० वर्षभित्र समान अवसरको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । सम्पूर्ण सामुदायिक विद्यालयमा समान शिक्षा, निजी विद्यालयहरूलाई गुठी वा सहकारी मोडलमा सञ्चालनका लागि सुझाव दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्