
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी १८ गतेबाट सुरु हुने महामन्त्री सशांक कोइरालाले बताउनु भएको छ । वडा, पालिका, र जिल्लाको अधिवेशन अहिले गरिए पनि केन्द्रीय महाधिवेन मंसिरमा हुने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य कमलकिशोर घिमिरेको आमाको निधनको ९ औं दिनमा नेपाली काँग्रेस दाङले गरेको श्रद्धाञ्जली सभामा बोल्दै उहाँले आमचुनावको तयारी गर्न समेत काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
नेकपा एमाले फुटेको, माओवादी कमजोर भएको भन्दै उहाँले अहिले काँग्रेसमा भएको गुट बन्दी अन्त्य गरे काँग्रेसले बहुमत ल्याउने ठोकुवा गर्नुभयो ।
सबैैको सर्वसहमतीमा महाधिवेशनको कार्यतालिकाको टुंगो लगाइएको अर्का नेता डाक्टर प्रकाशसरण महतले बताउनुभयो । केन्द्रीय निर्वाचन समितिले वडा, पालिका, क्षेत्र र जिल्लामा अधिवेशन गर्नको लागि प्रतिनिधि समेत खटाइसकेको बताउनुभयो ।
१८ गते अधिवेशन हुन नसकेका वडाहरुमा पालिकाको अधिवेशन हुनुभन्दा अघिल्लो दिनसम्म गर्न सक्ने अधिकार निर्वाचन प्रतिनिधिलाई दिइएको उहाँको भनाइ छ । साथै काँग्रेसले सरकारको नेतृत्व गर्नु अवसर र चुनौती दुवै भएको उहाँले बताउनुभयो ।
‘देशमा सुशासन दिने, भ्रष्टाचार हुन नदिने, सबै जनतालाई कोरोना भाइरस विरुद्धको खोपको सुनिश्चितता गर्ने चिसिएको विदेश सम्वन्ध सुधार गर्ने सरकारको प्राथमिकता रहेको छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्