
दीपेन्द्र अधिकारी
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले डेढ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको अपजस खेपिरहनु परेको छ । सत्ता गठबन्धनका दलहरुभित्र को मन्त्री बन्ने भन्ने हानाथापले मन्त्रिपरिषद् विस्तारमा जटिलता थपिएको देखिन्छ ।
कोभिड महामारी र ध्वस्त अर्थतन्त्रबीच बनेको सरकारको सुस्त चालढालले परिणाम दिन नसक्ने भएकाले राम्रा मन्त्री छनौट गर्न विज्ञहरुले सुझाएका छन् । तर नेताहरुले राम्रा र हाम्रा त परै जाओस् खल्तीका मानिस मन्त्री बनाउने रोगले ग्रस्त छ नेपाली राजनीति ।
आफ्नो दलभित्रको गुट व्यवस्थापन गरी मन्त्री छनौट गर्ने सकसमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा हुनुहुन्छ । पार्टीको आन्तरिक राजनीति व्यवस्थापन भन्दा महाभारत त गठबन्धन दलहरुको चित्त बुझाएर मन्त्रिपरिषद्लाई पूर्णता दिनु बनेको छ ।
देउवाले गठबन्धन दलको चित्त बुझाउने कोसिस गर्दागर्दै डेढ महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा राज्यसञ्चालनका असीमित मुद्दाहरु थाती रहन पुगेका छन् । यसले सरकारप्रतिको अपेक्षामा ठेस लाग्न थालेको छ । कतै प्रधानमन्त्री देउवा सत्ता टिकाउन विगतमा झै जुनसुकै कदम चाल्न तयार हुने त होइन भन्ने आशंका जन्मिएको छ ।
कतिपय अवस्थामा मोटो रकम लिएर मन्त्री बनाउने गरेको पाइन्छ । चुनावी खर्च उठाउन मन्त्री बन्न खोज्ने माननीयहरुको होडबाजी विगतमा जस्तै यस पटक पनि चलिरहेकै छ ।
स्वच्छ र भ्रष्टाचार विरोधी मन्त्री हुने हो भने भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुग्छ । तर त्यो स्थिति नबन्दा गतवर्ष सरकारी तहमा हुने भ्रष्टाचार ८४ प्रतिशत रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको प्रतिवेदनले देखाएको छ ।
स्थायी सरकार कर्मचारीतन्त्रलाई विचोलियाको रुपमा प्रयोग गर्ने र नमानेमा सरुवा गर्ने प्रचलन छ । सरकारले मन्त्रीपरिषद्बाट निर्णय गराएर नियामक निकायका आँखा छल्दै नीतिगत भ्रष्टाचार गर्ने गरेको कैयौ दृष्टान्त छन् ।
भलै संसदीय विकृतिको श्रृंखलाबीच संसदीय व्यवस्थाको सुत्राधार कांग्रेस नेतृत्वको सरकारले यही व्यवस्थाप्रति भरोसा जगाउने दायित्व पूरा गर्नु पर्ने छ ।
तर मन्त्रिपरिषद् विस्तारमै अलमल हुँदा त्यो विश्वास जगाउने दायित्वबाट कांग्रेस चुकेको हो कि भन्ने प्रश्नहरु जन्मनु नाजायज होइन । कांग्रेसभित्रै गुटैगुटको लडाईले होस् या गठबन्धन दलले मन्त्रीको नाम दिन नसकेकाले होस् मन्त्रिपरिषद् विस्तारमा बिलम्ब भएको छ । यसको अपजस प्रधानमन्त्री देउवामै गइरहेको छ, र जानेछ । यसप्रति प्रधानमन्त्री देउवा सचेत हुनै पर्छ ।
प्रतिक्रिया दिनुहोस्