२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


झलनाथ खनालको उपचार खर्च फिर्ताकाे माग गर्दै सर्वोच्चमा रिट


0
Shares

Jhalnath Khanal-UML

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गर्नुभएको हो ।

खनालले आफ्नो स्वास्थ्य उपचार विदेशमा गरेको हुनाले उपचारको खर्च सरकारले व्यहोर्नु गैरकानुनी हुने भन्दै सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गरिएको छ । त्यस्तै उपचार खर्च व्यहोर्ने भनी सरकारले गरेको निर्णय खारेज गर्न पनि रिटमा माग गरिएको छ ।

यसअघि सर्वोच्च अदालतका रजिस्ट्रारले दरपिट गरेको यो रिट भदौ ३ गते न्यायाधीश दीपककुमार कार्कीले खारेज गरिदिएपछि उक्त रिट आज दर्ता भएको हो ।

मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनाल हाल भारतको एपोलो अस्पतालमा उपचार गराइरहनु भएको छ । उहाँको उपचारका लागि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३१ लाख रुपैयाँ दिएको थियो ।

रिटमा प्रचलित कानूनको बर्खिलाप हुने गरी ओली मन्त्रिमण्डल र शेरबहादुर देउवाको मन्त्रिमण्डलले थप उपचार खर्च उपलब्ध गराउने निर्णय निर्णय बदर गरी कानून विपरीत उपलब्ध गराइएको रकम खनालमार्फत् राज्यकोषमा फिर्ता गर्न माग गरिएको छ ।

यो रिटको पेशी भदौ १५ गतेका लागि तोकिएको छ ।