
दुर्गा उपाध्याय
कञ्चनपुर । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको विश्वासका साथ यो पर्व मनाउने चलन छ । गौरा पर्वमा डेउडा, ठाडीभाका, धुमारी, ढुस्को लगायतका सुदूरपश्चिमको मौलिक खेल हुने गर्दछ । तर कोरोना संक्रमणका कारण गतवर्षबाट भने डेउडालगायतका खेल हुन सकेका छैनन् । गौरा पर्व धार्मिकमात्र नभइ सुदूरपश्चिमको संस्कृति र महत्वपूर्ण चाड भएको स्थानीय बताउँछन् ।
विवाहित महिलाहरुले भाद्र पञ्चमीका दिन निराहार व्रत बसेर सगुन गाउँदै तामाको भाडामा विरुडा भिजाउने र षष्ठीका दिन सगुन गाउँदै संयुक्त रुपमा पञ्च अन्न पखाल्ने चलन छ । विरुडा धोइसकेपछि गौराको मूर्ति प्रतिस्थापन गर्ने र सप्तमीका दिन देवीलाई नजिकको मठ मन्दिरमा भित्र्याएर पुजा गरी विवाहित महिलाले दुबधागो चढाउने गर्दछन ।
गौरा पर्वको सबैभन्दा ठूलो दिनका रुपमा अष्ठमी अर्थात अठेवालीलाई मान्ने गरिन्छ । यो दिन ब्रतालु महिलाहरुले पञ्च अन्न अर्थात बिरुडाले गौरा देवीको पूजा गर्दछन् । पुजा सकिएपछि प्रसादका रुपमा रहेको विरुडाले श्रीमान र छोराको दीर्घायूको कामना गर्दै पुज्ने प्रचलन रहेको स्थानीय लिलादेवी भट्टले बताउनुभयो ।
भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । पहिलो पटक व्रत बस्ने महिलाहरुले भने उज्याली गौराबाट व्रत शुरु गर्नुपर्ने जनविश्वास छ । विवाहित महिलाहरुले व्रत बसेर अठेवाली पुजा सकिएपछि दुबधागो लगाउने गरेको स्थानीय देवकी पनेरु बताउनुहुन्छ ।
भाद्र कृष्णपक्षको पञ्चमीका दिन सुरु भएको गौरा पर्व धार्मिक रुपमा कृष्ण अष्टमीका दिन समापन हुने गरे पनि साँस्कृतिक रुपमा फरक फरक दिनमा यसको समापन गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्