१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सत्ता गठबन्धनको बालुवाटार बैठक: मन्त्रालयको भागबण्डामा सहमति जुटे आजै मन्त्रिपरिषद् विस्तार


0
Shares

काठमाडौं, भदौं १४ । मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्ता साझेदार गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।

गठबन्धनबीच सहमति नबन्दा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको डेढ महिनाको समय हुँदा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।

मन्त्रालय भागवण्डाका विषयमा हिजो गठबन्धनको बैठक बसे पनि सहमति नजुटेपछि नेताहरू आज फेरि छलफलमा जुटेका हुन् ।
गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ ।

२५ सदस्यीय मन्त्रिमण्डलमा नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित ७, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाले ५/५ मन्त्री र एक–एक राज्यमन्त्री पाउने बताइएको छ ।

एकीकृत समाजवादीको हिजो बसेको संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको छ ।

जसपाले आजै बैठक बसेर नाम टुंगो लगाउने जनाएको छ । प्रधानमन्त्री देउवाले माधव नेपाल र उपेन्द्र यादवको आग्रहमा मन्त्रिपरिषद् विस्तारमा ढिलाई गर्दै आउनुभएको थियो ।