१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


विभाजनतिर नलाग्न एमाले जनप्रतिनिधिलाई अध्यक्ष ओलीको निर्देशन


0
Shares

काठमाडौं । नेकपा एमालेले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई त्यस्ताे निर्देशन दिनु भएकाे हाे ।

उहाँले अन्तरपार्टी निर्देशनमा पार्टी विभाजनको दुराशयका साथै हालै जारी अध्यादेशमा स्थानीय तहका जनप्रतिनिधिहरूले समेत दल त्याग गर्न सक्ने प्रावधान राखिएको भन्दै कानुनी प्रतिवाद गर्ने उल्लेख गर्नु भएको छ ।

गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरिएको निर्देशनमा पार्टीको भूमिका बदलिएको र एमाले सत्तापक्षबाट प्रतिपक्षमा रुपान्तरित भएको उल्लेख छ ।

अन्तरपार्टी निर्देशनमा एमालेका नेता र कार्यकर्ताहरू कुनै हिसाबले विगतमा विभाजनकारी गतिविधिमा संलग्न भएको भए पनि त्यसबाट अलग भएर पार्टीको पक्षमा उभिन तयार हुनेहरूलाई बिनाभेदभाव स्वागत गर्ने निर्णय गरेको स्मरण गराइएको छ ।

एमालेले संविधानको अपव्याख्या एवं विभिन्न स्वार्थ–समूहहरूको गठबन्धनको बलमा मुलुकमा अगाडि बढेको ठहर गर्दै राष्ट्रिय राजनीतिलाई पछाडि फर्काउने असंवैधानिक र अलोकतान्त्रिक प्रयास तीब्र पारिएको दावी समेत गरेको छ ।