
भक्तपुर । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले विगतको गुरिल्ला शैली झैँ छुट्टै सरकार र संसद झल्को दिने गरी काम गरेको बताउनुभएको छ ।
सोमबार भक्तपुरमा भएको एक साक्षात्कारमा बोल्दै नेता बस्नेतले एमालेले १४ सांसदलाई कारबाही नगरेको भन्दै सभामुखमाथि चर्को आक्रोश पोख्नुभयो । सभामुख सापकोटाले विभिन्न जालझेल गर्दै एमाले फुटाउन खोजेको उहाँको आरोप छ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरता तर्फ धकेल्ने प्रयासमा लागेको निष्कर्ष निकाल्दै सांसद् बस्नेतले सभामुख सापकोटाले गरेको निर्णय उनीहरूको पक्षपोषणमा रहेको जिकिर गर्नुभयो । उहाँले नेपाली राजनीति र संविधानको सवालमा गलत नजिर बसालेर सभाुमखले राम्रो नगरेको बताउनुभयो ।
सांसदसमेत रहेका नेता बस्नेतले नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई सुरुमै कुपोषण लागेको आरोप लगाउनुभयो । ‘अहिलेको सरकारमा सामेल दलहरूले संविधान कुल्चेर काम गरे,’ उहाँले भन्नुभयो, ‘सरकरलाई कुपोषण लागिसकेको छ, एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भयो अहिले सत्तामा भएका दलहरू, खोइ सरकारलाई पूर्णता, खोइ मन्त्रिपरिषद् विस्तार ?’
सांसद बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा महा–गठबन्धनका नाममा नयाँ च्याँखे थाप्न लागेको आरोप लगाउनुभयो । ‘नेपाली राजनितिमा च्याँखे दाउ थाप्न माहिर प्रचण्डले काँग्रेससँग सहकार्य गरी आफ्नो छोरीलाई मेयर बनाए,’ उहाँले भन्नुभयो, ‘२०७४ को निर्वाचनमा एमालेसँग च्याँखे थापे, अब आगामी निर्वाचनमा महागठबन्धनको नाममा नयाँ च्याँखे थाप्न लाग्दैछन् ।’
सांसद बस्नेतले वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नुनै अन्तिम विकल्प रहेको बताउनुभयो । संविधान मिचेर अनेक खालका अध्यादेश ल्याएर निर्वाचनलाई पछि नधकेल्न पनि उहाँले सत्तारुढ दलहरुलाई चेतावनी दिनुभयो । संसदमा सांसदबीच फोहोरी खेल खेल्दै एमालेलाई कम्जोर बनाउँने सपना नदेख्न र निर्वाचनमा उत्रन उहाँले सबैलाई आव्हान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्