
अक्कल कुँवर
काठमाडौं । गत वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा एमालेले पार्टीका १४ जना सांसदलाई पार्टी र संसद सदस्यबाट हटाउने निर्णय गरेको थियो ।
भदौ १ गते संघीय संसद सचिवालयलाई उक्त निर्णयको सूचना दिँदै एमालेले कारबाहीमा परेका सांसदलाई तत्काल पदमुक्त गर्न सभामुख अग्नि सापकोटालाई पटक–पटक दवाव दियो । तर, दुईहप्तापछि सभामुख सापकोटाले एमालेले कारबाहीको सिफारिस गरेका १४ जना सांसद मिलेर अर्को दल गठन भएको भन्दै कारबाही गर्न नपर्ने निर्णय लिनुभयो ।
कराबाहीको सिफारिस गरेका सांसदलाई तत्काल पदमुक्त नगरेको भन्दै चिढिएको एमाले सभामुखको पछिल्लो निर्णयसँगै थप आक्रोशित बनेको छ । नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक चिनकाजी श्रेष्ठ, सभामुखले कानुनसम्मत निर्णय गरेकाले आक्रोशित हुनुको अर्थ नभएको जिकिर गर्नुहुन्छ ।
तत्काल कारबाही सिफारिस कार्यान्वयन नगरेकोप्रति आक्रोशित एमालेका नेताहरूले सार्वजनिक रुपमै सभामुखलाई चेतावनीयुक्त भाषा प्रयोग गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा संसद चलाउन चुनौती दिनुभएको छ भने एमालेकै अर्का नेता अग्नि खरेलले सभामुखलाई थाङ्नामा सुताइदिने चेतावनी दिनुभएको छ । एमालेका नेताहरूले प्रयोग गरेको भाषा अनुचित भएको पूर्वप्रमुख सचेतक श्रेष्ठको टिप्पणी छ ।
एमालेका नेताहरूबाट आएका अभिव्यक्तिले आगामी दिनमा संसदमा सभामुख र प्रमुखप्रतिपक्ष दलबीच टकराव उत्पन्न हुने देखिएको छ । यी दुईबीचको टकरावको असर संसद र संसदीय प्रक्रियामा पर्ने निश्चित छ । एमालेका नेताहरूको चर्को कुराले संसदमा असर नपर्ने जिकिर पूर्वप्रमुख सचेतक श्रेष्ठको छ । सभामुखसँगको पछिल्लो टकरावले आगामी दिनमा एमालेले संसद अवरोध गर्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्