३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


कोरोना त्रासका बीच कृष्णाष्टमी : मन्दिर बन्द गरेर सार्वजनिक बिदा


0
Shares

गृष्मा राजभण्डारी
काठमाडौं । सरकारको दोहोरो नीतिका कारण यसपल्टको कृष्णाष्टमी पर्व औपचारिकतामा सीमित भयो ।

एकातिर अघिल्लो सरकारले कटौती गरेको बिदालाई तजबिजी अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने अर्कातिर कोभिडको त्रास देखाएर मन्दिर बन्द गर्दा भक्तहरू मन्दिर बाहिरैबाट त्रासबीच दर्शन गर्न बाध्य भए । पाटनको प्रसिद्ध कृष्ण मन्दिर पूजाआजाका लागि बन्द छ ।

भगवान श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रुपमा पुजिन्छ । भगवान विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेको धार्मिक मान्यता रहिआएको छ ।

भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई कृष्णजन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

यस दिन पाटनको मङ्गल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहेकाले पूजाविधि मात्र गरिएको छ ।

मन्दिर हातामा भेला भएका श्रद्धालुहरू बाहिरैबाट दर्शन गरी फर्किएका छन् । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाईंमा संलग्न अर्जुनलाई युद्धका निम्ति उत्प्रेरित गर्ने क्रममा श्रीकृष्णबाट व्यक्त विचार र दर्शनलाई श्रीमद्भागवद गीताका रूपमा लिइन्छ । यसलाई हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ ।

बालकृष्णलीला यो पर्वको प्रमुख विशेषता हो । आफ्ना सन्तानलाई कृष्णको भेषमा सजाएर मेलापातमा लैजाने चलन छ । शहरका स्कुलमा समेत यो दृश्य देख्न पाइन्छ । नेपालको राजनीतिमा भगवान श्रीकृष्णजस्तै सत्पात्रको कल्पना गरिन्छ ।

जसले विद्यमान व्यभिचार, राजनीतिक बेथिति, अन्याय र अत्याचारको कालो बादल हटाउन सकोस । कामना गरौं यस दिनले हामीलाई त्यो यात्राका लागि प्रेरित गर्नेछ ।