३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


१६ वर्षको गाली मैले खानुपरेको छ– मेयर शाक्य

सडक विभागलाई प्रधानमन्त्रीको निर्देशन– सडक आजै बनाइदेउ, भोलिदेखि फोहोर उठ्नुपर्छ

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १६ वर्षको गाली आफूले खानुपरेको गुनासो गर्नुभएको छ । सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मेयर शाक्यले दुई वर्षका लागि फोहोर व्यवस्थापनका लागि भनेर लिइएको नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि फोहोर राखिएकाले १६ वर्षको गाली आफूले खाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंको फोहोरको समस्या लामो समय भइसक्यो । पहिला मुलपानीमा पनि व्यवस्थापन गर्दा यस्तै समस्या थियो । मुलपानीबाट हामीले विष्णुमति किनारमा पनि फोहोर व्यवस्थापन गर्यौं । त्यसपछि हामी सिस्डोल गयौँ । सिस्डोल गइसकेपछि पनि हामीले २ वर्षको भनेर लियौँ । अब १६ वर्ष भइसक्यो । अब १६ वर्षको गाली मैले खानुपरेको छ ।’

उहाँले सरकारका विभिन्न निकायहरुले बनाउने जिम्मा लिएका कामहरु समयमै सम्पन्न नगर्दा अहिलेको समस्या निम्तिदिएको उहाँको भनाइ छ । सडक विभागले सडक मर्मत नगर्दा फोहोर विसर्जनमा समस्या आएको उहाँले गुनासो गर्नुभयो । सडक विभागको कामको विषयमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै मेयर शाक्यले जानकारी गराउनुभएको छ । लगत्तै प्रधानमन्त्री देउवाले सडक विभागलाई फोन गरेर तत्काल सडक मर्मत गर्न निर्देशन दिनुभएको शाक्यको भनाइ छ ।

मेयर शाक्यले भन्नुभयो, ‘उहाँ(प्रधानमन्त्री)ले हाम्रो अगाडि नै फोन गरेर सडक विभागलाई छिटो भन्दा छिटो, आजै बनाइदेउ भोलिदेखि फोहोर उठ्नुपर्छ भनेर निर्देशन दिनुभएको छ । आज बनाइदियो भने भोलिदेखि नै हामी फोहोर उठाउँछौं । यहाँ पानी परेर केही हुँदैन, तर सिस्डोलमा हिलाम्मे हुनुभएन । हामीले फोहोर व्यवस्थापन गर्नै ठाउँमा बाटो बन्यो भने भोलिदेखि नै फोहोर उठाउँछौं ।’