२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सामान्य वर्षा मै नगरका मूल सडकदेखि ग्रामीण भेग जलमग्न (भिडियाेसहित)


0
Shares

नविन सिंह

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाको विकास निर्माणको अवस्था निकै कमजोर देखिएको छ । सामान्य वर्षामै नगरका मूल सडकदेखि ग्रामीण भेग जलमग्न हुँदै आएको छ । वर्षौदेखि जनप्रतिनिधिविहीन रहेको जनकपुरधामले जनप्रतिनिधि पाएपछि विकास हुने अपेक्षा गरिएको थियो तर ४ वर्ष बित्न लाग्दा पनि अवस्था ज्यूँका त्यूँ छ ।

जनप्रतिनिधिको सेवा सुविधा बढ्दै गएको छ भने नगरको सडकको अवस्था दिनदिनै जर्जर बन्दै गएको छ । हुनत एडीबीको ऋण सहयोगमा करीब ३ करोडको लगानीमा सडक बने पनि सम्पूर्ण नगरलाई छुन सकेको छैन । जनप्रतिनिधि आएपछि विकासको कुनै पनि अनुभति पाउन नसकेको स्थानीयको गुनासो छ ।

शहरी क्षेत्रमा सडक भए पनि पानी निकासको समस्याले सामान्य वर्षामै जलमग्न हुने गरेको छ भने ग्रामीण भेगमा सडकको अभावमा हिलाम्य हुने गरेको छ । उपमहानगरपालिकाले योजना बिना सडक बनाउँदा पानी निकास हुन नसकेका कारण समस्या भइरहेको छ भने ग्रामीण भेगमा बजेट अभावका कारण सडक निर्माण हुन नसक्दा समस्या बढेको स्थानीयको भनाइ छ ।

यता जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रले सबै वडालाई एकनासले बजेट वितरण गर्दै आएको दाबी गर्नु भएको छ । निर्माणधिन सडकमा कतै कमिशनको चलखेल नभएको र ग्रामीण भेगमा बजेट अभाव भए पनि सबै वडामा सिलिंगको आधारमा एकैनासले बजेट वितरण गरेको उपमेयर मिश्रको भनाइ छ ।

जनकपुरधाम उप–महानगरपालिकाका ग्रामीण क्षेत्रका नागरिक अहिले पनि सरकारको आधारभूत सुविधाबाट वञ्चित रहेका छन् । उप–महानगरपालिकाले ग्रामीण वडाहरुमा समेत विकासको अनुभुति दिलाउनु पर्ने आवश्यकता छ ।