१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जयसिंह धामी बेपत्ता प्रकरण छानविन समितिको म्याद थप्ने सरकारको तयारी

१० दिन म्याद पाएको समितिले एक महिनासम्म प्रतिवेदन बुझाउन सकेन

0
Shares

काठमाडौं । सरकारले तुइनबाट नदी तर्ने क्रममा महाकालीमा खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घट्नाको अध्ययन गर्न बनाएको समितिको म्याद फेरि थप्ने भएको छ ।

१० दिनेका समयसीमा दिएर गठन गरिएको समितिको म्याद यसअघि पनि तीन पटक थपिएको थियो । समितिको म्याद मंगलबार सकिन लागेको भए पनि प्रतिवेदन बुझाउने टुंगो नलागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

गत साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा काट्दा व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए । घटनाको अनुसन्धानका लागि सरकारले साउन १७ गते १० दिनमा प्रतिवेदन बुझाउन भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।

समिति हेलिकोप्टरमार्फत घटनास्थल पुगेको थियो । पीडितका परिवार, धामीसँग तुइन तरेका प्रत्यक्षदर्शीलगायतसँग टोलीले बयान समेत लिएको थियो । प्रतिवेदन लेखनकै लागि भन्दै पटक–पटक समितिको म्याद थपिए पनि प्रतिवेदन बुझाउनै ढिला गर्दा अनेक आशंका जन्मिएको छ ।