
पर्सा । वीरगन्जको सिर्सिया बहुअरी चोकमा भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
बुलेटको ठक्करबाट बहादुरमाई नगरपालिका–२ पिपरा टोलका ३० वर्षीय लालबाबु साह तेलीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगन्जबाट पश्चिमतर्फ साइकलमा गइरहेका साहलाई आइसिपी भन्सार नाकाबाट निस्किएको एनएल ०१ एबि ४३७५ नम्बरको ग्यास बुलेटले दिउँसो साढे १२ बजेतिर ठक्कर दिएको हो ।
साहको मृत्युपछि ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको गल्तीका कारणले दुर्घटना भएको भन्दै स्थानीयले एक घण्टा चक्का जाम गरेका थिए ।
खटिएका प्रहरीले भन्सारबाट निस्केको गाडीहरूबाट रकम असुलीमा व्यस्त रहँदा दुर्घटना भएको प्रदर्शनकारीको आरोप छ । प्रहरीलाई असुली बाहेक अन्य विषयमा ध्यान नदिँदा समस्या भएको उनीहरूको भनाइ छ ।
तर, जिल्ला प्रहरी कार्यालय भने आरोप स्वीकार्न तयार छैन । स्थानीले निराधार आरोप लगाएको प्रहरी निरीक्षक सुमन कार्कीले बताउनुभयो । ठक्कर दिने ग्यास बुलेट भारतीय चालक र सवारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्