१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ठमेलका व्यवसायीद्वारा निर्वाध व्यवसाय सञ्चालन गर्न दिन माग


0
Shares

काठमाडौं । कोरोनाका कारण लामो समयदेखि निर्वाध सञ्चालन हुन नसकेको व्यवसाय सञ्चालनको वातावरण बनाउन काठमाडौं ठमेलका व्यवसायीले माग गरेका छन् ।

ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारी सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरूले यस्तो माग गरेका हुन् । कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई ठूलो असर पुर्‍याएको छ ।

रात्रिकालीन व्यवसाय ठप्पप्रायः छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरू विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरूले निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिन माग गरेका हुन् ।

निषेधाज्ञा अघिको समयमा जस्तैगरी व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय र, सिसीएमसीमा समेत ज्ञापनपत्र बुझाएका छन् ।