
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको वडा अधिवेशन फेरि सर्ने भएको छ ।
भदौ १८ गतेका लागि तय भएको वडा अधिवेशन सार्ने गरी छलफल भएको कांग्रेसका नेताहरूले बताएका छन् । क्रियाशील सदस्यता विवादका कारण पटक–पटक प्रभावित हुँदै आएको कांग्रेसको महाअधिवेशन फेरि सार्ने गरी तयारी भएको हो ।
वडा अधिवेशन सार्ने सम्बन्धमा नेताहरूबीच छलफल भए पनि औपचारिक निर्णय नभएको बताइएको छ । तर, अधिवेशन केही दिन सार्ने विषयमा शीर्ष नेताहरू सहमत भएको बुझिएको छ । स्रोतका अनुसार वडा अधिवेशन कम्तीमा ४ दिन पर सार्ने तयारी भइरहेको छ ।
निर्वाचन समितिले सम्पूर्ण क्रियाशील सदस्यताको सूची प्रकाशित नगरेको कारण तोकिएको मितिमा सबै वडाको अधिवेशन गर्न सम्भव नरहेको बताइएको छ । कांग्रेसले भदौ ११ गते ४८ र भदौ १२ गते ५ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ ।
अन्य २४ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित भएको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक भएका ५३ जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्