
नरेन्द्र मानन्धर
काठमाडौं । बौद्ध धर्मको आस्थाको केन्द्र त्यसमाथि युनेस्को विश्व सम्पदामा सूचिकृत स्वयम्भू महाचैत्य । पुरातात्विक र ऐतिहासिक महत्वले भरिएको मूर्त–अमूर्त सम्पदाको भण्डार स्वयम्भू महाचैत्य क्षेत्र यतिबेला व्यापारीकरणले कुरूप बनेको छ ।
महाचैत्यमा बरफ, कुल्फी, फलफूल, चनाचटपटलगायत अन्य सामाग्री अव्यवस्थित रूपमा बेच्न राखे पनि सरोकारवालाले रोक्न सकेका छैनन् । संरक्षणको अधिकार पाएका स्वयम्भू महाचैत्यका पुजारीकै परिवारसमेत यसमा संलग्न भएको पाइएको छ । पुजारीहरू नै महाचैत्य परिक्रममा गर्ने बाटोमा दियो–बत्ति बेच्छन् ।
केही दिन अगाडिसम्म स्वयम्भू बौद्ध मूर्ति संग्रहालय फलफूल र वरफको गोदाम बनाएर राखिएको थियो । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति मौन र निकम्मा देखिएको छ । स्वयम्भूका पूजारी किरण बुद्धाचार्य आफुहरूले रोक्ने खोजे पनि नसकेको बताउनुहुन्छ ।
पुजारीकै सिको गरेर अन्यले पनि यस्ता सामग्री विना रोकतोक बेचिरहेका छन् । पसल राख्न नपाइने स्वयम्भू चढ्ने सिँढीको छेउमा समेत टहरा बनाएर पसल राख्दासमेत महासमिति मौन छ । स्थानीयहरू यसलाई दादागिरीको नमूना ठान्छन् ।
मन्जुश्रीदेखि स्वयम्भूको धेरै ठाउँमा यसरी नै जथाभावि पसलहरू राखिएका छन् । महानगरपालिका आएर हटाए पनि पुनः पसल थापिन्छ । स्थानीय निकायले न यसलाई व्यवस्थित गर्न सक्छ न त हटाउन नै ।
विडम्बना शौचालय जाने बाटोमा नै पानी र खानेकुरा बेचिन्छ । फेरि पनि सबै मौन र मुकदर्शक छन् । सम्पदा क्षेत्रमा हुने यस्ता गतिविधिले पर्यटकलाई समेत निराश बनाउने पक्का छ । त्यसैले पर्यटकी क्षेत्रलाई व्यवस्थित र स्तरीय बनाउतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्