३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


उद्योग दर्ता गर्ने महिलाको हिस्सा ५० प्रतिशत बढी


0
Shares

काठमाडौं । पछिल्लो समय महिला उद्यमशीलता बढ्दै गएको पाइएको छ । उद्योग विभागमा पछिल्लो समय उद्योग दर्ता गर्ने महिलाको संख्या बढ्दै गएको पाइएको हो । सरकारले ऋण सुविधाका साथै कानुनी रूपमा दिएको छुटका कारण पनि लघु, घरेलुदेखि ठूला उद्योगसम्ममा महिला सहभागिता बढ्न थालेको महिला उद्यमीहरू बताउँछन् ।

सरकारले २०७४ सालमा प्राइभेट फर्म रजिष्ट्रेसन (एघारौं संशोधन) नियमावली जारी गरी दर्ता दस्तुर र ऋणमा पनि सहजीकरण गरेसँगै उद्योग क्षेत्रमा महिला सहभागीता वृद्धि भएको देखिएको छ । यस नियमावलीले महिला, दलित एवं विपन्न वर्गका व्यक्तिलाई १ करोड सम्मको उद्योग दर्ता गर्दा १ सय रुपैयाँ र १ देखि ५ करोड सम्मको उद्योग दर्ता गर्दा नियम बमोजिम लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यो व्यवस्थापछि महिला सहभागीता बढेको उद्योग विभागको तथ्याकंले देखाएको छ ।

हालसम्म उद्योग दर्ता गर्ने महिलाको संख्या २ लाख १० हजार बढी पुगेको छ । जबकी विभागमा हालसम्म कुल उद्योग दर्ता संख्या ४ लाख ५५ हजार ७१ रहेको छ । यस अनुसार पनि उद्योग क्षेत्रमा झण्डै ५० प्रतिशत महिला उद्यमी रहेको देखिन्छ । पछिल्लो समय औद्योगीक क्षेत्रमा सहुलियतपुर्ण ऋण र छुट तथा शैक्षिकस्तरमा समेत आएको सुधारले महिला सहभागीता बढ्दै गएको उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको विश्लेषण छ ।

विभागले ५ प्रतिशत अनुदानमा महिला उद्यमी कोषमार्फत ऋण उपलब्ध गराउने गर्छ । हाल कोषमा २० करोड ३२ लाख ९४ हजार रहेको छ । कोषको रकम परिचालन गर्ने र उद्यमशिलता विकास गर्न पनि विभागले सहयोग गर्दै आएको छ । उद्योग दर्ताका हिसाबले महिला उद्यमशिलता बढ्दै गएको देखिएपनि उद्योग सञ्चालनमा उनीहरुको सहभागिताका सन्दर्भमा भने विभागसंग कुनै ठोस तथ्यांक रहेको छैन ।