१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सभामुख भीर–भीर कुद्छन्, अदालतको झन् कुरै नगरौं– केपी ओली


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिडाउन खोजेको आरोप लगाउनुभएको छ ।

नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिडी कान्ला–कान्ला र भीरबाट हिडेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला-कान्ला, भीर–भीर कुद्छन् ।’

उहाँले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिड्न छाडेको बताउनुभयो । उहाँले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ, त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौं । त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ । त्यही भइरहेको छ ।’

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने दावी गर्नुभयो ।

अध्यक्ष ओलीले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताउनुभयो । खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने पनि उहाँले उल्लेख गर्नुभयो । अनुशासित भएर खेल्नसके सफलता प्राप्त गर्न सकिने भन्दै अध्यक्ष ओलीले खेलाडीहरूलाई अनुशासित भएर खेल्न सुझाव दिनुभयो ।