८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सधैं अरुका पीडा र व्यथाका समाचार देख्ने पत्रकार बाढीका कारण आफै समस्यामा (भिडियाेसहित)


0
Shares

हरि शर्मा

पश्चिम नवलपरासी । सधैं अरुका पीडा र व्यथाका समाचार उजागर गर्ने पत्रकारहरु शुक्रबार आएको बाढीका कारण आफै समाचारका पात्र बने । मध्यरातमा आएको बाढीले कसैले पनि सामान स्यार्हान पाएनन् । बाढीले खाद्यान्न, लत्ताकपडा र केही पत्रकारका सञ्चार सामाग्रीसमेत बगाएको पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पूर्वअध्यक्ष केशव पराजुलीले बताउनु भयो ।

न लगाउने कपडा, न सुत्ने ओछ्यान त्यसमाथि छाक टार्ने अर्को समस्याले पत्रकारहरुलाई थप पीडा दिएको छ । अन्नपात भिजेपछि अरुसँग मागेर छाक टादैं आएको पत्रकार रेनुका चौधरीको दुःखेसो छ ।

बाढीका कारण अझ पनि केही पत्रकार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । बाढीले पत्रकारहरुलाई पीडा त दिएको छ नै । तर त्यो भन्दा बढी पीडा आफू कार्यरत सञ्चारमाध्यमहरुले एक पटक पनि नसम्झदा लागेको पत्रकारहरुले दुखेसो गरेका छन् । बाढीले पत्रकारका घर डुबानमा परेका छन भने सवारीसाधनलाई पनि क्षति पु¥याएको छ । भएको भौतिक संरचना तहसनहस भएपछि पत्रकारहरु बिल्लीबाठमा परेका छन् ।

घर डुबानमा परेपनि यहाँका पत्रकारहरु आफ्नो पिडालाई मत्थर गर्दे आफ्नो कतव्र्यबाट कत्ति पनि बिमुख भएका छैनन् । जनतालाई सुसुचित गराउन नियमित कामलाई नछाडेको बताउनुहुन्छ पत्रकार महासंघका सचिव राजकुमार रेश्मी ।

बाढीबाट पत्रकारहरु प्रभावित भएपछि अहिले पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले क्षतिको विवरण संकलन गरिरहेको छ । अहिलेसम्म १४ जना पत्रकारहरु बाढीबाट पीडित भएको महासंघका सचिव रेश्मीको भनाइ छ ।

कोरोनाको कारण देखाउँदै अहिले पनि अधिकांश पत्रकारहरुले सञ्चार माध्यमबाट नियमित पारिश्रमिक पाउन सकेका छैनन् । पारिश्रमिक नपाएर आर्थिक बोझमा पर्दै आएका पत्रकारहरुलाई यो बाढीले थप पिडा थपेको छ । तसर्थ पीडामा रहेका परासी क्षेत्रका पत्रकारहरुलाई पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ र सरकारले छुट्टै राहतको व्यवस्थाका लागि पहल गर्न जरुरी देखिएको छ ।