
काठमाडौं । प्रदेश–१ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले पार्टी परित्याग गरेका छन् । उनीहरु नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन् ।
उनीहरूले आजै विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको जनाएका छन् । आज राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरीले सनाखत गर्ने बताइएको छ ।
यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नुहुने छ । ९३ सदस्यीय प्रदेशसभा अहिले ९२ जना सांसद छन् । सबैभन्दा ठूलो दल एमालेका सभामुखसहित ५१ सांसद थिए ।
तीमध्ये एक जना सांसद फौजदारी अभियोगमा सजाय पाएकी छन् र उनी अहिले फरार सूचीमा छन् । १० सांसदले एमाले त्यागे मुख्यमन्त्री आचार्यको पक्षमा ३९ जना सांसदमात्र रहन्छन् । विपक्षी गठबन्धनमा भने अहिले नै कांग्रेसका २१, माओवादीका १५, जसपा ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्