
हरि शर्मा
परासी । चारदिन अघि आएको बाढीले पश्चिम नवलपरासीको सदरमुकाम परासी सबैभन्दा बढी प्रभावित बन्यो । यो बाढीले सधैँ अरुका समाचार लेख्ने पत्रकारहरू आफैँमा समाचार बने । बाढीबाट विस्थापित केही पत्रकारहरू अझ पनि छिमेकी र आफन्तकोमा आश्रय लिएर बस्दै आएका छन् ।
सधैँ अरुका पीडा र व्यथाका समाचार उजागर गर्ने पत्रकारहरू शुक्रबार आएको बाढीका कारण आफैँ समाचारका पात्र बने । मध्यरातमा आएको बाढीले कसैले पनि सामान जोगाउन पाएनन् । बाढीले खाद्यान्न, लत्ताकपडा र केही पत्रकारका सञ्चार सामाग्रीसमेत बगाएको पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पूर्वअध्यक्ष केशव पराजुलीले बताउनुभयो ।
न लगाउने कपडा, न सुत्ने ओछ्यान त्यसमाथि छाक टार्ने अर्को समस्याले पत्रकारहरूलाई थप पीडा दिएको छ । अन्नपात भिजेपछि अरुसँग मागेर छाक टार्दै आएको पत्रकार रेनुका चौधरीको दुःखेसो छ । बाढीका कारण अझ पनि केही पत्रकार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।
बाढीले पत्रकारका घर डुबानमा परेका छन् भने सवारीसाधनलाई पनि क्षति पुर्याएको छ । भएको भौतिक संरचना तहसनहस भएपछि पत्रकारहरू बिल्लीबाठमा परेका छन् । घर डुबानमा परे पनि कतव्र्यबाट भने उनीहरू कत्ति पनि बिमुख भएका छैनन् । जनतालाई सुसुचित गराउन नियमित कामलाई नछाडेको पत्रकार महासंघका सचिव राजकुमार रेश्मी बताउनुहुन्छ ।
बाढीबाट पत्रकारहरू प्रभावित भएपछि अहिले पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले क्षतिको विवरण संकलन गरिरहेको छ । अहिलेसम्म १४ जना पत्रकारहरू बाढीबाट पीडित भएको महासंघका सचिव रेश्मीको भनाइ छ । कोरोनाको कारण देखाउँदै अहिले पनि अधिकांश पत्रकारहरूले सञ्चार माध्यमबाट नियमित पारिश्रमिक पाउन सकेका छैनन् ।
पारिश्रमिक नपाएर आर्थिक बोझमा पर्दै आएका पत्रकारहरूलाई बाढीले थप पीडा दिएको छ । तसर्थ पीडामा रहेका परासी क्षेत्रका पत्रकारहरूलाई पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ र सरकारले छुट्टै राहतको व्यवस्थाका लागि पहल गर्न जरुरी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्