
दुर्गा आचार्य
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पत्रकार सम्मेलन गर्दैछ । पौडेल समूहबाट पार्टीको १४ औं महाधिवेशनमा एक मात्र उम्मेदवार हुने भन्दै सभापतिका आकांक्षी चार उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
दिउँसो दुुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरिने स्रोतले बताएको छ । लामो समयसम्म उम्मेदवारको टुंगो लगाउन नसकेपछि कार्यकर्ताको दबाब थेग्न नसकेर पौडेल समूहले यो पत्रकार सम्मेलन गर्न लागेको हो ।
उनीहरुले आफूहरु एकैठाउँमा भएको र महाधिवेशनमा एक मात्र उम्मेदवार हुने भन्ने सन्देश सम्मेलनबाट दिन खाेजेकाे स्रोतले बताएको छ ।
पौडेल समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको आकांक्षी देखिएका छन् ।
‘उम्मेदवार को हुने हो भन्ने चाहि अझै टुंगो लागेको छैन्’, पौडेल निकट केन्द्रीय सदस्यले भने ‘महाधिवेशनमा एक मात्रै उम्मेदवार हुने भन्ने कुरा लगभग टुंगिसकेको छ ।’
पौडेल समूहका चार उम्मेदवारमध्ये रामचन्द्र पौडेल १३ औं महाधिवेशनमा सभापतिमा पराजय भएपछि फेरि एकपल्ट सभापति हुन पाउनुपर्ने अडान राख्दै आउनुभएकाे छ ।
त्यस्तै महामन्त्री कोइरालाले आफू महामन्त्री भएपछि सभापति हुनुपर्ने र वर्तमान सभापति देउवालाई हराउन आफू योग्य रहेको सञ्चारमाध्यममा बताउँदै आउनुभएको छ ।
यता डा. शेखर १३ औं महाधिवेशन लगतै सभापतिको उम्मेदवार भन्दै देश दौडाहामा निस्किनुभएको थियो । उहाँको तल्लो तहका कार्यकर्तासँग निकै राम्रो सम्बन्ध छ ।
त्यस्तै प्रकाशमान सिंह आफू उपसभापति भैसकेको र अबको ‘नेचुरल क्यान्डिडेट’ आफू नै भएको दावी गर्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्