
एजेन्सी । घरेलु टिम इंग्ल्याण्डले भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिन हिजो अग्रता बनाएको छ । द ओभलमा दोस्रो दिनको खेल सकिँदासम्म इंग्ल्याण्डले ५६ रनको अग्रता बनाएको हो ।
इंग्ल्याण्डलाई अलआउट गर्दै दोस्रो इनिङ्स थालेको भारतले बिना विकेटको क्षतिमा ४३ रन बनाएको छ । भारतका लागि केएल राहुल २२ रनमा अविजित रहदा रोहित शर्मा २० रनमा अविजित रहेका छन् । यसअघि इंग्ल्याण्ड पहिलो इनिङ्समा २ सय ९० रन जोड्दा अलआउट भएको हो ।
इंग्ल्यान्डका ओली पोपले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस वोक्सले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जोनी बेयर्स्टोले ३७ रन बनाए । मोइन अलि ३५ रनमा आउट भए भने जोए रुट २१ रनमा आउट भए । भारतका उमेश यादवले ३ विकेट लिए । जस्प्रित बुम्राह र रविन्द्र जडेजाले २/२ विकेट लिए ।
यस्तै पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा बिहीबार १ सय ९१ रन जोड्दा अलआउट भएको थियो । भारतका सार्दुल ठाकुरले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ्स खेले । इंग्ल्याण्डका क्रिस वोक्सले ४ विकेट लिए । ओली रोबिन्सनले ३ विकेट लिए । दुई टिमबीचको पाँच खेलको सिरिज १–१ को स्थितिमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्